बिराटनगर । बिराटनगरस्थित लाइफ गार्ड हस्पिटलले नयाँ सिटी स्क्यान मेसिन प्रयोगमा ल्याएको छ । आधुनिक सिटी स्क्यान मेसिन ल्याएर प्रयोग थालिएको अस्पतालले जनाएको छ । अस्पतालमा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले मेसिनको उद्घाटन गरेका छन् ।
विरामीमैत्री आधुनिक सिटी स्क्यान मेसिन प्रयोगमा ल्याइएको अस्पतालले दावी गरेको छ । यो मेसिनबाट स्क्यान गर्दा अन्य मेसिनको तुलनामा ४० प्रतिशत विकरण कम हुँने, होलबडी स्क्यान गर्न सकिने र तत्कालै स्क्यान हुँने भएकाले विरामीलाई फाइदाजनक रहेको अस्पतालका प्राविधिक अजय कुमार कायस्थले दावी गरे ।
अस्पतालले विपन्न, असहाय, अपाङ्ग र एकल महिलाहरुले वडाबाट सिफारिस ल्याएमा निःशुल्क सिटी स्क्यान सुविधा उपलब्ध गराउँने भएको छ । त्यस्तै जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुटमा सिटी स्क्यान सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।