धनकुटा । धनकुटाको पाख्रीवासमा सोमबार भान्सा कोठामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । आगोले शरीर जल्दा पाख्रीवास नगरपालिका–९ की ५९ बर्षीया शिवमाया पुर्वछाने मगरको मृत्यु भएको हो ।
खाना पकाउँने क्रममा कपडाबाट शरीरमा आगो सल्किएर जल्दा उनको मृत्यु भएको बताइएको छ । प्रहरीका अनुसार बिहान करिब ९ः३० बजे घटना भएको हो । आगोले शरीर जल्दा शिवमायाको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । ‘परिवारका सदस्य र छिमेकीको भनाई अनुसार घरमा अरु कोही नभएका बेला घटना भएको हो, मान्छे जलिरहेको देखेर छिमेकीले आगो निभाउँनु भएको रहेछ,’ डिएसपी कार्कीले संगालोखबरसँग भने, ‘खाना पकाउँने क्रममा शरीरमा आगो सल्किएको जस्तो देखिन्छ, तर, कसरी आगो शरीरमा लाग्यो र जलेर मान्छेको मृत्यु भयो भन्ने बिषयमा यकिन भएको छैन, हामी थप अनुसन्धान गर्दैछौ ।’
शिवमायाको छाती, टाउकोसहित शरीरको अधिकांस भाग आगोले जलेको छ । शिवमाया जलेर मृत अवस्थामा फेला परेका बेला उनका श्रीमान गाउँ गएका थिए । छोरा बारीमा थिए भने बुहारी घाँस दाउरा खोज्न गएकी थिइन् । शिवमाया खाना पकाउँन घरमै बसेका बेला घटना भएको बताइएको छ । कपडा जलेको जस्तो गन्ध आएर हेर्दा शिवमाया जलिरहेको देखेर आगो निभाएको छिमेकी बताउँछन् । अगेना तिर टाउको घोप्टिएको अवस्थामा उनको शव देखेर आगो निभाएको छिमेकीहरुले प्रहरी समक्ष बताएका छन् ।
शिवमायाको खुट्टामा क्यान्सर भएर केही बर्ष अघि दुई वटा औला काटिएको थियो । तरपनि उनी हिडडुल गर्न सक्थिन । हिडडुल गर्न सक्ने मान्छे जलेर मृत्यु भएको अवस्थामा भेटिएपछि प्रहरीले यो बिषयमा थप अनुसन्धान गरिरहेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।