
खोटाङ । प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालय र रोजी हिरा फाउन्डेसनले खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ३ स्थित बासपानी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार एक कार्यक्रमकाबीच आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की र फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधानले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा प्रदेश १ सरकारका तर्फबाट एक थान अक्सिजन कन्ट्सन्टेटर र फाउन्डेसनका तर्फबाट जीवनजल, मास्क, एन्टिजेन किट, सेनीटाइजर, फेस सिल्ड, कन्डम, पिल्स एमोक्सीन ट्याब्लेट लगाएत १० लाख भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । विद्युतीय माध्यमबाट चल्ने अक्सिजन कन्ट्सन्टेटरले बिरामीको ज्यान जोगाउँन सक्ने मन्त्री कार्कीले बताए ।
एनआरएनएकी पूर्व उपाध्यक्ष तथा हाल अध्यक्ष पदको प्रत्यासीसमेत रहेकी फाउन्डेसनकी अध्यक्ष प्रधानले आफ्नो कर्म जिल्लामा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् । आफू युकेमा भए पनि आफ्नो ठाउँको हरेक क्रियाकलापमा आफूहरूको सहभागिता रहने प्रधानको भनाई छ ।














