- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका छथरजोरपाटी गाउँपालिका–५ परेवादिनका रामकुमार लिम्बूकोे गत असोजमा मृत्यु भयो । मृत्यु भएको चार महिना वितिसक्दासम्म पनि अझै उनको शव नेपाल आइपुगेको छैन । महिनौंसम्म पनि शव नआइपुगेपछि शव नेपाल ल्याउँन पहल गरिदिन रामकुमारको परिवारका सदस्यले अपिल गरेका छन् ।

Advertisement

मृतक रामकुमारकी श्रीमति विष्णुमायाले श्रीमानको शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरिन् । ‘उहाँको मृत्यु भएको खबर आएको चार महिना वितिसक्यो, अहिलेसम्म पनि शव आइपुगेको छैन,’ विष्णुमायाले पीडा पोख्दै संगालोखबरसँग भनिन्, ‘हाम्रो पहल पुगेन कि के भयो, मान्छे वितेको यत्तो समयसम्म पनि शव आइपुगेन, सरकारले चासो देखाएर शव ल्याइदिन सहयोग गरिदिनुपर्यो ।’

रामकुमार १८ बर्षअघिदेखि साउदीस्थित ‘एइड दाहिम अल हामोउड एण्ड पार्ट्नर्स ट्रेडीङ एण्ड कन्ट्राक्टिङ’ नामक कम्पनीमा काम गर्दै आएका थिए । २०६० सालमा साउदी गएका उनी छुट्टी लिएर बेला–बेला घर आउने गर्थे । साउदीमै बाटोमा गाडी आउँदा साईड दिने क्रममा पुलबाट झरेर ३९ बर्षीय रामकुमार गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भिडियो कलबाट उनले निको भएर चाँडै घर फर्कने बताएका थिए । तर, त्यसको एक हप्तापछि असोज २६ गते उनको मृत्यु भएको खबर आयो ।

उपचारका क्रममा रामकुमारको मृत्युु भएको भन्दै साउदीमै रहेका उनका साथी युवराज कार्कीले आफुलाई खबर सुनाएको मृतककी श्रीमति विष्णुमाया बताउँछिन् । उनी भन्छिन्, ‘उपचारका क्रममा भिडियो कलमा बोल्दा चाडै निको भएर आउँछु भन्नु भएको थियो । तर, पछि उहाँको मृत्यु भएको खबर सुन्दा सपना जस्तो लाग्यो । मृत्यु भएको चार महिना वितिसक्यो, लास चै अझै आइपुगेको छैन ।’

मृतकका साढुदाई कमल कुमार राईले शव नेपाल ल्याइदिन वैदेशिक रोजगार वोर्डको सचिवालयमा गत कात्तिकमा निवेदन दिएका थिए । कमलका अनुसार सचिवालयले पनि नेपाली राजदुतावास रियाद, साउदी अरबलाई पत्र काटेर मृतकको सव नेपाल पठाउन सहयोगका लागि अनुरोध गरेको जानकारी दिएको छ । तर, शव अझै आइपुगेको छैन । बोर्डले शव आउँन ६ देखि ८ महिनासम्म लाग्ने बताउँदै आएको छ ।

विष्णुमायाका १४ बर्षीय छोरा रविन छन् । अहिले उनीहरु मोरङको सुन्दरहरैचा नगरपालिका–६, गछियामा सुकुम्बासी जग्गामा बस्दै आएका छन् । उनीहरु गछिया खोलामा वालुवा चालेर जिविका चलाउँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!