संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–७ जिरोप्वइन्टस्थित कोशी लोकमार्गमा मंगलबार साँझ टेम्पु दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनकुटा बजारबाट जिरोप्वइन्टतर्फ जाँदै गरेको मे.१ ह ४४७४ नम्बरको अटोटेम्पु साँझ करिब ८ः३० बजे सडकको नालीमा पल्टिएको हो ।

Advertisement

दुर्घटनामा टेम्पु चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तिखर्कका ६० बर्षीय लाल बहादुर दर्लामी मगरको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । ‘छथर जोरपाटी घर भएपनि उहाँ जिरोप्वइन्टमै बसेर यतै टेम्पु चलाउँने गर्नु भएको रहेछ,’ डिएसपी कार्कीले संगालोखबरसँग भने,‘बजारबाट कोठातिर जाँदै गर्दा जिरोपइन्ट मास्तिर टेम्पु पल्टिएर उहाँको मृत्यु भयो ।’

टेम्पु पल्टिँदा चालक मगर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँनासाथ डाक्टरले मृत घोषित गरेका हुन् । मृतक मगरको टाउकोसहित शरिरका विभिन्न भागमा चोट देखिएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । मृतक मगरले पहिले ट्रक कुदाउँने गरेका थिए । करिब डेढ बर्षअघिबाट उनी धनकुटा बजार क्षेत्रमा टेम्पु कुदाउँन थालेका थिए ।

टेम्पु जिरोपइन्ट मास्तिर खोल्सी नजिक सडकको नालीमा पल्टिएको हो । दुर्घटनाको कारणवारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार दिपक खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!