- संगालोखबर सम्वाददाता

विराटनगर। धनकुटामा क्रियाशिल गठबन्धन सम्बद्ध दलका नेताहरुले जिल्लाको विकास र समृद्धिका लागि भन्दै १ नम्वर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई ध्यानाकर्षणसहित ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र संघिय लोकतान्त्रिक मञ्चका नेताहरुले विराटनगर पुगेर मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो र सामाजिक विकास मन्त्री जयराम यादवलाई ज्ञापनपत्र बुझाएका हुन् ।

Advertisement

ज्ञापन पत्र बुझाउँन नेपाली कांग्रेसका सभापति दिनेश राई, सचिब विजय सन्तोषी राई, प्रदेश सांसद लिला सुब्बा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धनमायाँ विक, प्रदेश नं.१ का सह–सचिव ऋषिराम ढुंगाना, प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष बल वहादुर राई, प्रदेश सांसद आरसी तुम्बा, नेकपा एकिकृत समाजवादीका इन्चार्ज धर्मराज पौडेल, संघीय लोकतान्त्रिक मञ्चका इन्चार्ज चन्द्र सिंह नेम्वाङ्ग लगायत नेताहरु विराटनगर पुगेका थिए । उनीहरुले धनकुटालाई प्रादेशिक राजधानी नबनाइदा जिल्लामा सुन्यता छाएको र जिल्लाको विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा धनकुटा जिल्ला अस्पताललाई १ सय शैयामा स्तरोन्नती गरी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न सक्षम बनाउँनुपर्ने, भेन्टिलेटरसहित १० वेडको आईसीयू कक्ष स्थापना भएपनि दक्ष जनशक्ति अभावमा थन्किएर बसेकाले त्यसलाई सञ्चालन गर्न जनशक्तिको व्यवस्था गर्नुपर्ने, धनकुटामा मेडिकल कलेज स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउँनुपर्ने माग गरिएको छ । त्यस्तै, पर्याप्त मात्रामा कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउनुपर्ने, व्यापारिक तथा पर्यटकीय केन्द्र हिले बजारमा नगरस्तरीय अस्पताल स्थापना गर्नुपर्ने, धनकुटामा प्रदेश स्तरीय १ सय बेडको आर्युवेदिक अस्पताल सञ्चालन गर्नुपर्ने माग पनि गरिएको छ ।

धनकुटा नगरबाहेक वाँकी छ वटा पालिकामा २५ बेडको अस्पताल बनाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने, धनकुटामा रहेको मुख्यमन्त्रीको सम्र्पक कार्यालयमा कम्तिमा दुई महिनामा एक पटक प्रदेश मन्त्री परिषदको बैठक वस्ने व्यवस्था गर्नुपर्ने र महिनामा कम्तिमा एक पटक धनकुटामा रहेको सम्र्पक कार्यालयमा मुख्यमन्त्री आई त्यहीबाटै काम गर्ने वातावरण तयार गर्नुपर्ने माग गरिएको छ । धनकुटाकोे बेलहारा डाँडामा एयरपोर्ट निर्माणका लागि डीपीआरसमेत भइसकेकाले तत्काल एयरपोर्ट निर्माण प्रकृया थाल्न पनि नेताहरुले माग गरेका छन् ।

धनकुटामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय, शिक्षा निर्देशनालय, प्रदेश स्वस्थ्य तालिम केन्द्र र रेडियो नेपालको प्रदेश प्रशारण केन्द्र विराटनगरमा सार्ने तयारी गरिएकाले त्यो प्रकृयालाई तत्काल रोक्न माग गरिएको छ । धनकुटाका बाढीपहिरो प्रभावितलाई स्थानान्तरण गर्न केन्द्रबाट बजेट बिनियोजन भएपनि प्रदेश सरकारबाट बजेट पठाउन बाँकी रहेकाले अबिलम्ब बजेट पठाउँन, प्रदेश नम्वर १ को प्रहरी प्रमुखको सम्पर्क कार्यालयलाई प्रदेश नम्वर १ को प्रहरी तालिम केन्द्रका रुपमा विकास गर्न, छिन्ताङ्ग काण्ड र प्रजातन्त्र तथा लोकतान्त्रिक आन्दोलन, जनयुद्धमा सहिद भएका धनकुटाका २९ सहिद परिवारलाई राहत उलब्ध गराउन र सहिद परिवारलाई रोजगारको व्यवस्था गर्न पनि माग गरिएको छ ।

सो अवसरमा मुख्यमन्त्री राजेन्द्र राईले धनकुटाको गौरवमय इतिहास मेट्न नदिने बताउदै जिल्लाको विकास र समृद्धिका लागि प्रदेश सरकारले सहयोग गरेर मागहरु पुरा गर्दै जाने आश्वासन दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!