- रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटामा श्रीमानले श्रीमतीको हत्या गरेर घरभित्रै शव गाडेको भेटिएको छ । धनकुटा नगरपालिका–४ छारागाउँका सीताराम भनिने ५२ बर्षीय सीताकुमार श्रेष्ठले घरायसी झगडाका क्रममा ५२ बर्षीया श्रीमती सीताको हत्या गरेर उनको शव घरभित्रै गाडेको फेला परेको हो ।

Advertisement

अनुसन्धानका क्रममा घरभित्र शव गाडेको पत्ता लागेपछि प्रहरीले सोमबार शव उत्खनन् गरेर निकालेको छ । गत पुस १६ गते राती श्रीमान–श्रीमतीबीच घरायसी विवादका क्रममा झगडा भएको थियो । त्यसपछि सीता बेपत्ता थिइन् । श्रीमान सीताराम पनि १९ गते घर छोडेर हिडे । घटनापछि पुस २१ गते भदाहा अरुण श्रेष्ठले सीताको खोजतलासको माग गर्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानमा जुटेको प्रहरीले आइतवार सीतारामलाई ललितपुरबाट पक्राउ गर्यो । सीताराम पक्राउ परेपछि श्रीमतीको बिषयमा सोधपुछ गर्ने क्रममा उनले हत्या गरेर घरभित्रै शव गाडेको पत्ता लागेको हो ।

घरको भुईं तलामा खाल्डो खनेर गाडीएको अवस्थामा सीताको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । ‘झण्डै दुई फिट गहिरो मान्छे अट्ने खाल्डो खनेर गाडेको अवस्थामा शव भेटियो, हामीले खनेर शव निकालेका छौ,’ डीएसपी कार्कीले संगालोखबरसँग भने, ‘शव सड्न लागेको अवस्थामा छ । पोष्टमार्टम गराउँन हामीले धरान पठाएका छौं ।’

उत्खनन् गरिएको शव हुँनाले विज्ञ टोलीबाट पोष्टमार्टम गराउँन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो । प्रहरीका अनुसार खाटमुनी शव गाडेर माटोले पुरी त्यसमाथि गिटी राखेको भेटिएको छ । शव गाडेको नदेखुन भनेर त्यसमाथि खाट राखेको हुँनसक्ने प्रहरीको अनुमान छ । सीतालाई घरमा नदेखेपछि प्रहरी र आफन्तले उनको खोजी गरिरहेका थिए । प्रहरीले कुकुरसमेत परिचालन गरेर खोजेको थियो । तरपनि शव गाडेको पत्ता लाग्न सकेको थिएन । अन्ततः पक्राउ परेका श्रीमानले नै श्रीमतीको हत्या गरेको स्वीकार गर्दै शव गाडेको बयान दिएपछि घटनाको रहस्य खुलेको हो । आफुले भनेको कुरा श्रीमतीले नमान्ने र आफुखुशी गर्ने गरेकाले झगडा भएको र सोही क्रममा उनको मृत्यु भएको सीतारामको बयान छ ।

यसअघि पनि उनीहरुबीच पटक–पटक झगडा हुँदै आएको थियो । उनीहरु दुवै जनाले मादक पदार्थ सेवन गर्ने गरेकाले सानो बिषयमा पनि झगडा भइरहने गरेको छिमेकीहरु बताउँछन् । पारिवारिक कलहका कारण सीता कतिपय दिन घर छोडेर अन्यत्रै गएर बस्ने गरेकी थिइन् । यसपटक पनि उनी घर छोडेर अन्यत्रै गएको वा के भएको यकिन नहुँदा घटनाको वास्तविकता पत्ता लाग्न तीन साता लागेको डीएसपी कार्की बताउँछन् ।

श्रेष्ठ परिवारमा श्रीमान–श्रीमतीसँगै उनीहरुका १३ बर्षीय छोरा पनि बस्दै आएका थिए । तर, रातीको समयमा घटना भएकाले आमाको हत्या भएको छोराले पत्तो पाएनन् । श्रीमतीको हत्यापछि शव बाहिर लगेर गाड्दा छिमेकीले थाहा पाउँन सक्ने आशंकामा सीतारामले घरभित्रै शव गाडेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको छ । हत्या आरोपी सितारामविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाउँने तयारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!