- संगालोखबर सम्वाददाता

धनकुटा । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटामा कार्यरत हवल्दार दिपक खड्का गत पुस महिनाको ‘ट्राफिक पुलिस अफ दी मन्थ’ बनेका छन् । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले खड्कालाई पुस महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरेको हो ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रदेश १ का एक/एक जना ट्राफिकलाई हरेक महिना ‘ट्राफिक पुलिस अफ दी मन्थ’ घोषणा गर्दै आएको छ । सोही अनरुप खड्का पुस महिनामा प्रदेश १ को उत्कृष्ट ट्राफिक प्रहरी बन्न सफल भएका हुन् । उनलाई आइतवार प्रदेश ट्राफिक प्रहरी कार्यालयले उत्कृष्ट छनौट गरेर ‘ट्राफिक पुलिस अफ दी मन्थ’ घोषणा गरेको हो ।

लगनशिल, कर्तव्यनिष्ठ एवं पूर्ण जिम्मेवारीका साथ सवारी दुर्घटना न्यूनीकरण एवं प्रभावकारी ट्राफिक व्यवस्थापनमा खटिएकाले खड्कालाई उत्कृष्ट घोषित गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुमन कुमार निम्सिनाले जनाएका छन् ।

खड्काले आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सम्वन्धि चेतना अभिबृद्धि गराउँने, आवश्यक स्थानमा ट्राफिक संकेत बोर्ड र सडक रेखाहरु निर्माण तथा सडकमा भौतिक पूर्वाधार निर्माण व्यवस्थापनसहित विद्यार्थी, सवारी चालक, सह–चालक लगायतलाई ट्राफिक नियम सम्वन्धि जनचेतनामूलक प्रशिक्षण गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयको ठहर छ ।

इलाम नगरपालिका–१२ स्थायी घर भएका खड्का १५ बर्षदेखि प्रहरी सेवामा कार्यरत छन् । उनी गत महिना प्रहरी जवानबाट हवल्दार पदमा बढुवा भएका हुन् । मेहनती र मिजासिलो स्वभावका खड्का धनकुटामा लोकप्रिय ट्राफिक प्रहरीको रुपमा चिनिन्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!