- संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटाको ७ औं जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको छ । धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा अधिवेशन आयोजना गरिएको हो ।

Advertisement

नेकपा एमालेका नव निर्वाचित केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईले दिप प्रज्वलन गरेर अधिवेशन उद्घाटन गरेका छन् । अधिवेशन उद्घाटन गर्दै केन्द्रिय सदस्य राईले अब धनकुटामा एमालेले पाँच दलिय गठबन्धनलाई बढारेर समाप्त पार्ने दावी गरे । ‘यो अधिवेशनपछि नयाँ नेतृत्वले एमालेका प्रतिनिधिहरुलाई एक–एक वटा कुचो दिएर पठाउँछ, त्यो कुचोले भुई बढार्ने हैन, पाँच दलको गठबन्धनलाई बढार्छ,’ नेता राईले भने, ‘अब, धनकुटामा पाँच दलिय गठबन्धन समाप्त हुन्छ ।’

केपी ओली नेतृत्वको सरकारले धनकुटालाई दिएको १० अर्ब बजेट काटेर देउवा नेतृत्वको सरकारले पाँच अर्बमा झारेको भन्दै नेता राईले यसरी नै पाँच दलिय गठबन्धन समाप्त हुँने वाटोमा लागेको उल्लेख गरे । जिल्लाको बजेट काटेर गठबन्धनले आफ्नो चिहान आफै खनेको टिप्पणी गरे ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवं धनकुटा सह–इन्चार्ज सकुन्तला बस्नेतले नेता कार्यकर्ताको योगदानले धनकुटामा एमाले शक्तिशाली बन्दै गएको बताइन् । उनले जिल्लाको शक्तिशाली पार्टी भएकाले एमालेको यो अधिवेशनले जिल्लाको भाग्य र भविश्य निर्माण गर्ने जिकिर गरिन् ।

एमालेका अग्रज नेता गोपाल गुरागाईले अहिलेको पाँच दलिय गठबन्धन देश विकास गर्ने भन्दा पनि एमाले सिध्याउँने अभियानमा लागेको आरोप लगाए । सबै दल एमालेविरुद्ध खनिदा पनि एमालेमा झन–झन जनलहर बढेको उनले जिकिर गरे ।

एमालेका १ नम्बर प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ्गले पार्टीले जनहितमा काम गरिरहेको दावी गर्दै अरुले गरेका नकारात्मक टिप्पणीबाट निरास नहुँन कार्यकर्ताहरुलाई आग्रह गरे । कसैलाई जिताउँने वा हराउँने नभई एमालेलाई सफल बनाउँने भेलाको रुपमा अधिवेशनलाई बुझ्नुपर्ने भन्दै उनले अधिवेशनबाट नयाँ जोश र उर्जासहित गाउँ फर्कन प्रतिनिधिहरुलाई सुझाव दिए ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य गणेश राई, एमाले धनकुटाका उप–सचिव निरन राई, सचिवालय सदस्य टंक चुवान लगायतले जिल्ला अधिवेशनले सक्षम र सवल नेतृत्व छान्नुपर्नेमा जोड दिए ।

को बन्ला अध्यक्ष ?

शुक्रबारबाट सुरु भएको एमाले धनकुटाको ७ औं जिल्ला अधिवेशनमा शनिवार बिहान ७ बजेबाट बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रबाट पाँच पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी चुनिनेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव र ८५ जना सदस्य निर्वाचित हुँनेछन् ।

अध्यक्षमा एमाले नेता इन्द्रमणी पराजुली, निरन राई, शिव आङ्ला र चिन्तन तामाङ्गले दावी गरेका छन् । तर, पराजुली र राई मध्ये एक जना अध्यक्ष बन्ने संभावना रहेको नेताहरु बताउँछन् । अन्य पदमा पनि आकांक्षी धेरै छन् । चुनौतिपूर्ण देखिएपनि नेतृत्वले निर्वाचन नगरी सर्वसम्मत रुपमा अधिवेशन टुंग्याउँने प्रयास गरिरहेको छ ।

उद्घाटन सत्रमा मन्तब्यका क्रममा केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज राजेन्द्र राईले पनि यही संकेत गरे । उनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने बताए । थोह्रै पदमा धेरै आकांक्षी हुँदा सवैलाई समेट्न नसकिने भन्दै उनले सहमतिमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

सर्वसम्मत नेतृत्व चयनका लागि इन्चार्ज राईकै नेतृत्वमा ‘हाइ कमाण्ड टिम’ बनाइएको छ । जसले सहमतिबाटै नेतृत्व छान्ने निष्कर्ष निकालेको छ । त्यही अनुसार प्रयास भइरहेको छ । तर, दावेदारहरु सजिलै पछि हट्ने पक्षमा छैनन् । नेतृत्वले मतदान नगरी सहमतिबाटै नेतृत्व छान्न जोडबल गरेपछि उनीहरु आफ्नो पक्षमा सहमति जुटाउँने दौडधुपमा छन् ।

के भन्छन् अध्यक्षका आकांक्षी ?

अध्यक्षका दावेदार पराजुली र राई दुवै जना मतदान नगरी सहमतिबाटै नेतृत्व चयन हुँने बताउँछन् । सहमतिका लागि सबैले लचकता अपनाउँन तयार हुनुपर्ने नेता पराजुलीको तर्क छ । निवर्तमान अध्यक्ष राजेन्द्र राई पछि आफु सिनियर भएकाले नेतृत्व पाउँनुपर्ने उनको दावी छ ।

यता, नेता राई प्रदेश र केन्द्रको सिफारिसबाट नभई जिल्ला नेतृत्वबाटै सहमति खोजिनुपर्ने बताउँछन् । वर्तमान कार्यसमितिमा आफुले नेतृत्वदायी भूमिका निर्वाह गरेर आएकाले अब आफु अध्यक्ष बन्न पाउँनुपर्ने उनको तर्क छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!