- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा सञ्चालित वाइ वाइ डाइनामाइट ‘ए’ डिभिजन लिगको उपाधि देउराली युवा क्लव र ‘बी’ डिभिजन नकआउट फुटबल प्रतियोगिताको उपाधि डाँडाबजार युवा क्लवले जितेको छ । तल्लो टुँडिखेलमा एकैसाथ भएका दुई वेग्ला–बेग्लै प्रतियोगिताको उपाधि धनकुटा नगरपालिका–७ स्थित देउराली र साँगुरीगढी गाउँपालिका–५ स्थित डाँडाबजार युवा क्लवले जितेका हुन् ।

Advertisement

‘बी’ डिभिजन नकआउट फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा सिंहदेवी युवा क्लव सिधुवालाई २–० गोल अन्तरले पराजित गर्दै डाँडाबजार युवा क्लबले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै डाँडाबजारले २५ हजार नगदसहित ट्रफी पाएको छ भने उप–विजेता सिंहदेवीले १२ हजार ५ सय नगद र ट्रफीमा चित्त बुझाएको छ ।

यता, फाइनलमा रारा समाज सेवा राजारानीलाई पराजित गर्दै ‘ए’ डिभिजन लिगको उपाधि जितेको देउरालीले नगद ४० हजार र ट्रफी पाएको छ । उप–विजेता राजारानीले २० हजार नगद र ट्रफी हात पारेको छ । विजय टिम र खेलाडीहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, नेपाल प्रहरीका पूर्व डीआइजी दिनेश आमात्य, धनकुटा नगरपालिकाका प्रशासकीय अधिकृत रामबहादुर थापा, फुटवल संघका अध्यक्ष गोविन्द राई, पूर्व अध्यक्ष सम्भु प्रधान, धिरेन्द्र श्रेष्ठ र पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राई लगायतले पुरस्कृत गरेका छन् ।

‘बी’ डिभिजन नकआउटको बिजेता डाडाँबजार अब ‘ए’ डिभिजन सुपर लिगमा बढुवा भएको छ भने ‘ए’ डिभिजन सुपर लिगमा अन्तिम हुने धनकुटा–५ स्थित मार्गादेवी युवा क्लव घटुवा भएर ‘बी’ डिभिजनमा झरेको छ । धनकुटा जिल्ला फुटबल संघको आयोजनामा वाइ वाइ डाइनामाइट ‘ए’ डिभिजन लिग तथा ‘बि’ डिभिजन नकआउट फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो ।

पुस १० गतेदेखि सुरु भएको ‘ए’ डिभिजन लिगमा ६ वटा टिमबीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो । ‘बी’ डिभिजन नकआउटमा १० वटा टिमबीच प्रतिष्पर्धा भएको आयोजक जिल्ला फुटवल संघका अध्यक्ष गोविन्द राइले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!