- संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले विद्यार्थीहरुबाट बढी शुल्क नदिएको दावी गर्दै चिकित्सा शिक्षा आयोगलाई जवाफ पठाएको छ । बढी शुल्क लिएको गुनासो आएको भन्दै आयोगले सोधेको प्रश्नमा केएमसीले विद्यार्थीहरुबाट बढी शुल्क नलिएको र आयोगले तोकेको शुल्कमै पठनपाठन गराइरहेको भन्दै जवाफ पठाएको हो ।

पठनपाठनका लागि आयोगले निर्धारण गरेको शुल्क कार्यान्वयन नभएको र कक्षा सञ्चालन नभएको गुनासो तथा उजुरी आएको भन्दै आयोगले यो विषयमा केएमसीसहित तीन वटा मेडिकल कलेजसँग जवाफ माग गर्दै पत्र पठाएको थियो । सोही पत्रको जवाफ दिदैं केएमसीले विद्यार्थीहरुबाट बढी शुल्क नलिएको दावी गरेको हो । ‘हामीसँग कुनै राय परामर्श नगरी राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मर्म भावना विपरित आयोगले आत्मपरक ढंगले अध्ययन अवधिभर ४०,२३,२५२/– (किस्तावन्दी) लिने भनी शुल्क निर्धारण गरेको छ,’ केएमसीले आयोगलाई पठाएको पत्रमा लेखिएको छ, ‘तरपनि यस संस्थाले सो निर्णय बमोजिम नै शुल्क लिई अध्ययन अध्यापन गराई रहेको छ । आयोगले तोकेको भन्दा बढी कुनै शुल्क लिएको छैन ।’

आयोगले तोकेको शुल्क अनुसार नै विद्यार्थीहरुसँग सम्झौता गरेर शुल्क लिने गरिएको केएमसीले स्पष्ट पारेको हो । पारदर्शीताका लागि सो सम्झौता पत्र कलेजको वेभसाइटमा राख्नुका साथै चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र जिल्ला प्रशासन कार्यालयलाई पनि पठाइएको केएमसीले जनाएको छ । सो सम्झौता पत्रको खाकामा आयोगले तोके बमोजिमकै शुल्क उल्लेख छ ।

यता, केएमसीले एमबीबीएस, बीडीएस र बिएनएसको अध्ययन अध्यापन पुस ५ गतेबाट सञ्चालन गरिने भनेर पुस ४ गते नै आयोगलाई पत्राचार गरेको थियो । सोही मितिबाट भर्नाको आधिकारीक प्रकृया पुरा गरी सम्पर्कमा आएका विद्यार्थीहरुलाई नियमित रुपमा अध्ययन अध्यापन गराइरहेको केएमसीले पत्रमार्फत आयोगलाई जानकारी गराएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!