काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको औपचारिक रुपमा उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपमा नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकको उपस्थितिमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहको सभापतित्व पनि सभापति शेरबहादुर देउवाले गरेका छन् भने समारोहमा कांग्रेसका शीर्ष नेताहरुका साथै विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको छ । उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जसपा लोकतान्त्रिकका अध्यक्ष महत्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विदेशी पाहुनासमेतको उपस्थिति रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रममा जानकारी दिए ।
औपचारिक कार्यक्रम शुरु हुनुअघि विभिन्न समुदायका सांस्कृतिक झाँकी, व्यानरसहित नेता, कार्यकर्ता एवं शुभचिन्तकहरु भृकुटीमण्डपमा भेला भएका छन् । तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी चार हजार सात सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।