- संगालोखबर सम्बाददाता

काठमाडौं । सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनको पछि लाग्दा नेपाली नागरिक ठगिएका छन् । कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट रु एक करोड २२ लाख ठगिएको हो । यसरी ठगी गर्ने उनीहरुले मानिसहरुसँग रकम लिएर केही दिनमा दोब्बर फिर्ता गर्ने आश्वासन दिएका थिए । तर लामो समयसम्म पनि रकम फिर्ता नपाएपछि ठगिएका व्यक्ति प्रहरीसमक्ष पुगेका थिए ।

Advertisement

प्रहरीले सो कार्यमा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौँ महानगरपालिका–१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल छन् । उनीहरुलाई विभिन्न मितिमा काठमाडौँबाट पक्राउ गरी कानूनी कारबाही थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त सूचना आएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा बेन्जामिन फ्रयाङ्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकामा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिने प्रलोभन देखाएका थिए ।

ती विदेशी नागरिकले प्रलोभन देखाई भण्डारी र भुजेल समेतको बैंक खाता नम्बर प्रयोग गरी विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा रु ७८ लाख, भुजेलको नामको नविल बैंकको खातामा नगद रु नौ लाख ५० हजार र अन्य मानिसबाट थप रकमसमेत गरी ठगी गरेको खुल्न आएको छ । उनीहरुलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले सूचना जारी गरी जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!