धनकुटा । नेपाली कांग्रेस धनकुटा प्रदेशसभा (क) को सभापतिमा जितेन्द्र राई निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक मत परिणाम अनुसार २८३ मतसहित राई सभापतिमा निर्वाचित भएका हुन् । सभापति शेरबहादुर देउवा खेमाका जितेन्द्रले प्रतिद्धन्द्धी रामचन्द्र पौडेल खेमाका मोहन वान्तवा राईलाई ५१ मतान्तरले पराजित गरेका हुन् ।
५५० मत खसेको निर्वाचनमा मोहनले २३२ मत पाएका छन् । कांग्रेसको निर्वाचनमा तल्लो तह देखिनै खेमा छुट्टिएको छ । जिल्ला तहमा भने जितेन्द्रलाई जिल्ला कोषाध्यक्ष एवं सभापतिका उम्मेद्वार दिनेश राईसहितको टिमले साथ दिएको थियो । यता, मोहनलाई जिल्ला सभापतिका उम्मेद्वार कमोट फागोसहितको टिमले सघाएको होे ।
निर्वाचनमा एक जना प्रदेश अधिवेशन प्रतिनिधि बाहेक सबै पदमा मतदान भएको निर्वाचन समिति सदस्य खगेन्द्र घिमिरेले जानकारी दिए । अधिवेशनबाट उप–सभापतिमा २४२ मतसहित मिलन खड्गी र २२२ मतसहित नगेन्द्र राई निर्वाचित भएका छन् । सचिवमा २५० मतसहित नगेन्द्रबहादुर तामाङ्ग र २४४ मतसहित सञ्जय राई निर्वाचित भए । यता, सह–सचिवमा २४० मतसहित टंकप्रसाद थापा र २३६ मतसहित यमकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै, प्रदेश अधिवेशन प्रतिनिधिमा पदम बहादुर राई, धनबहादुर खड्का, भुपेन्द्र भण्डारी, दिनेश राई, इश्वरी प्रसाद सुवेदी, रोहिणी पाण्डे, राजेश्वरबहादुर श्रेष्ठ, सावित्री देवी श्रेष्ठ, हिमा कुमारी चेम्जोङ्ग, मुना पोख्रेल, राजेन्द्र घिमिरे, लाखमान राई, यमप्रकाश मगर, साजन राई, पुजन लिम्बू, कुसुम जोशी र दुर्गा विक निर्वाचित भएका छन् । यता, समानुपातिक अल्पसंख्यकतर्फबाट विगेन्द्र याखा राई निर्विरोध चयन भएका छन् ।
धनकुटामा दुवै क्षेत्रमा देउवा पक्ष हावी देखिएको छ । यसअघि कांग्रेस धनकुटा प्रदेशसभा (ख) को सभापतिमा पनि देउवा खेमाका राजन पौडेल निर्वाचित भएका थिए ।