- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा शनिवारदेखि दोस्रो एभोकाडो महोत्सव सुरु भएको छ । धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा धनकुटा–६ परिचयमोडस्थित एकोभाडो पार्कमा दुई दिने महोत्सव आयोजना गरिएको हो ।

Advertisement

धनकुटा नगरपालिका सह–आयोजक रहेको महोत्सवको प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले उद्घाटन गरेका छन् । गमलामा रोपिएको एभोकाडोको विरुवामा पानी हालेर सांसद राईले महोत्सव उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन गर्दै सांसद राईले मनग्य फाइदा लिन सकिने भएकाले व्यवसायिक रुपमा एभोकाडो खेतिमा लाग्न धनकुटाबासीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, निरन राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रशासकिय अधिकृत राम बहादुर थापा, उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तितुङ, धनकुटा नगरपालिका एभोकाडो कृषक समूहका अध्यक्ष खेमराज थापा लगायतले व्यावसायीक एभोकाडो खेतिमा लाग्न जोड दिए ।

महोत्सवमा धनकुटा तथा छिमेकी जिल्लाहरुमा उत्पादित एभोकाडो तथा एभोकाडोजन्य उत्पादनहरु प्रदर्शनी तथा बिक्रि–वितरणका लागि ३५ वटा स्टल राखिएका छन् । पहिलो दिन करिब १५ सय व्यक्तिले महोत्सवको अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सव उद्घाटनमा बिभिन्न सांस्कृतिक प्रस्तुतिले कार्यक्रमको रौनकता बढाएको थियो । महोत्सवको दोस्रो अर्थात अन्तिम दिन एभोकाडो खेति सम्बन्धि समस्याका बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

धनकुटा नगरक्षेत्रमा उत्पादन हुँदै आएको सिट्रस जातको फलफूल सुन्तला, जुनार र मुन्तलाको उत्पादन घटिरहेको अवस्थामा एभोकाडोको व्यवसायिक उत्पादनमा जोड दिने उद्धेश्यले धनकुटा नगरपालिकाले २०७५ सालमा धनकुटा नगरक्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरेको छ ।

एभोकाडोको राजधानी घोषणासँगै परिचयमोडमा एभोकाडोको स्तम्भसहित एभोकाडो पार्क पनि निर्माण गरेर पहिलो पटक एभोकाडो महोत्सव गरिएको थियो । अहिले त्यसैलाई निरन्तरता दिने क्रममा दोस्रो एभोकाडो महोत्सव आयोजना गरिएको हो ।

करिब ५ सय व्यक्तिले एभोकाडो खेति गर्ने गरेको धनकुटामा बार्षिक करिब ५० मेट्रिक टन एभोकाडो उत्पादन हुँदै आएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!