- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । नेपाली कांग्रेस धनकुटा प्रदेशसभा (ख) को सभापतिमा राजन पौडेल निर्वाचित भएका छन् । शुक्रबार पाख्रीवासमा भएको निर्वाचनबाट २३३ मतसहित पौडेल सभापतिमा निर्वाचित भएका हुन् । सभापति शेरबहादुर देउवा खेमाका पौडेलले ५७ मतान्तरले बरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका तिलकबहादुर महतलाई पराजित गरेका हुन् ।

४३५ मत खसेको निर्वाचनमा महतले १७६ मत पाएका छन् । जिल्ला तहमा भने पौडेललाई नेता मनोहर नारायण श्रेष्ठ, दिनेश राईसहितको टिमले साथ दिएको थियो भने महतलाई जिल्ला सभापति अग्नीप्रसाद पौडेल, नेता कमोट फागोसहितको टिमले सघाएको थियो । निर्वाचनमा सहमति जुट्न नसकेपछि सभापति, सचिव र सह–सचिवसहित ११ प्रदेश प्रतिनिधि मतदान प्रकृयाबाट छानिएको हो । दुई उप–सभापति र ६ प्रदेश प्रतिनिधि भने सर्वसम्मत भएका छन् ।

यता, समितिको उपसभापतिमा चन्द्र कुमार लिम्बु र भीमबहादुर खड्का सर्वसम्मत चयन भएका छन् । सचिवमा २२७ मतसहित दिलराज घिसिङ्ग र १७० मतसहित गोपाल राई निर्वाचित भएका छन् । त्यस्तै, सह–सचिवमा १८४ मतसहित विश्वास पुलामी र १७६ मतसहित मणिराज लिम्बु निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिमा जुना श्रेष्ठ, शर्मिला राई, चन्द्रकला धमला, हिमा कार्की, जुनमाया राई र कृष्णबहादुर पाँचकोटी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, गोविन्द लिम्बू, चिरञ्जीवी थापा, पर्शुराम कार्की, विजय अधिकारी, युवराज पराजुली, बलबहादुर खड्का, कृष्णप्रसाद कट्टेल, टंकबहादुर भट्टराई, भिष्मबहादुर गुरुङ्ग, हरीबहादुर राई र पुरन राई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

महतले दिए राजीनामा

कांग्रेस धनकुटा प्रदेशसभा (ख) को सभापतिमा पराजित भएपछि नेता तिलकबहादुर महतले नेपाल तरुण दल धनकुटा प्रदेशसभा (ख) को अध्यक्ष पदबाट राजीनामा दिएका छन् । पार्टीप्रति कुनै नकारात्मक भावनाले नभई नैतिकताका आधारमा राजीनामा दिएको महतले प्रतिक्रिया दिए ।

‘पार्टीमा अवसरका लागि प्रतिष्प्रधा गर्ने र हारेपछि पनि पहिलेकै पदमा बसिरहने परिपाटी छ, यो गलत हो,’ महतले संगालोखबरसँग भने, ‘मैले पार्टीप्रति कुनै नकारात्मक सोचेर हैन, निर्वाचनमा पराजित भएकाले पदमा बसिरहन उपयुक्त नहुँने ठानेर नैतिकताका आधारमा राजीनामा दिएको हुँ ।’

उनले निर्वाचनमा आफुलाई साथ, सहयोग र मतदान गर्ने सबैलाई धन्यवाद पनि दिए । शनिवार दिउँसो महतले सामाजिक सञ्जाल फेसवुकमार्फत राजीनामा घोषणा गरेको सार्वजनिक गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!