
उदयपुर । रुपन्देही ११ ले चौथो रमपम उदयपुर गोल्डकपको उपाधि हात पारेको छ । गाईघाट स्थित थरुहट रंगशालामा बिहिबार भएको फाईनल खेलमा मोरङ ११ लाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले उपाधी चुमेको हो ।
निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राईबेकरबाट टुंग्याईएको हो । ट्राईब्रेकरमा रुपन्देहीका लागि जर्सी नम्बर २५ का दिलिप क्षेत्री, ४ का कालु थापा, १९ का सौरभ मगर र ८ का उत्तम गुरुङको प्रहारले जाली चुम्दा मोरङ स्तब्ध भएको हो ।
मोरङका लागि जर्सी नम्बर १७ का सुसान्त चौधरी, ६ का निरज बस्नेत र ४ का बुद्धिमान राईको प्रहारले मात्रै जाली चुम्यो । बाकी दुई प्रहार विपक्षी गोलरक्षक दिलिप क्षेत्रीले बिफल तुल्याए ।
जितसंगै रुपन्देहीले दुई लाख नगदसहित रनिङ शिल्ड हात पारेको छ । यता उप–विजेतामा चित्त बुझाएको मोरङले एक लाख नगदसहित ट्रफि हात पारेको छ ।