संगालोखबर सम्बाददाता

विराटनगर । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दसहितका विरोधका कार्यक्रम घोषणा गरेको छ । नेकपाले कात्तिक २५ देखि ३० गतेसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

Advertisement

कात्तिक २५ गते दिउँसो ३ बजे देशब्यापी विरोध प्रदर्शन, २६ गते प्रचारप्रशार र मशाल जुलुश, २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन र २८ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम घोषणा गरिएको छ । त्यस्तै, २९ गते दिउँसो सिठ्ठी जुलुश, साँझ मशाल जुलुश र ३० गते नेपाल बन्द घोषणा गरिएको हो ।

नेपाल आयल निगमले बुधबार रातीबाट लागु हुँने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउँने एलपी ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँका दरले मूल्यबृद्धि गरेको छ । पेट्रोलियम पदार्थमा अस्वभाविक रुपमा मूल्यबृद्धि गरेर जनतामा लुट मच्चाइएको भन्दै नेकपाका महासचिब विप्लवले बुधबार वक्तव्य जारी गरेर विरोध जनाउँदै मूल्यबृद्धिविरुद्ध विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

वक्तव्यमा ४७ रुपैयाँमा आयात गरिने पेट्रोल १३३ मा विक्रि गरेर लुट मच्चाइएको उल्लेख छ । ‘४७ रुपैयाँमा आयात गरिने पेट्रोल १३३ मा विक्रि गरिन्छ । विज्ञहरुले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफासहित पेट्रोल ७० रुपैयाँमा विक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?,’ प्रश्न गर्दै वक्तव्यमा लेखिएको छ, ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिले सबै सामानमा मूल्यबृद्धि हुँनेछ । जनताहरु २ सय प्रतिशत मूल्य भुक्तानी गर्न विवश हुनेछन्, सार्वजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सामानहरुमा मूल्यबृद्धि हुँनेछ । यसबाट नेपाली उपभोक्ता कैयौं गुणा बढी मारमा पर्नेछन् ।’

नेकपाले मूल्यबृद्धि विरुद्ध सशक्त प्रतिरोध र संघर्षमा उत्रन पार्टीका सर्ब जनबर्गिय संगठनहरु र जनसमुदायलाई अपिल गर्दै मूल्यबृद्धि फिर्ता लिन सरकारसँग माग पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!