- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा आगामी मंसिर पहिलो साता दोस्रो एभोकाडो महोत्सव हुँने भएको छ । एभोकाडोको राजधानी घोषित धनकुटामा मंसिर ४ र ५ गते महोत्सव गर्न लागिएको हो । धनकुटा नगरपालिकाको सह–आयोजना तथा धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा महोत्सव आयोजना गरिएको हो । धनकुटा नगरपालिका–६ परिचयमोडस्थित एभोकाडो पार्कमा दुई दिने महोत्सव गर्न लागिएको आयोजक एभोकाडो कृषक समूहले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

Advertisement

धनकुटा नगरक्षेत्र तथा देशभर उत्पादन भएका एभोकाडो तथा एभोकाडोजन्य उत्पादनहरुको प्रदर्शनी, बिक्रि–वितरण तथा बिभिन्न साँस्कृतिक कार्यक्रम गर्ने गरी महोत्सव आयोजना गरिएको आयोजक कृषक समूहका अध्यक्ष खेमराज थापाले बताए । उनका अनुसार महोत्सवमा सहभागि भएका नगरक्षेत्रका एभोकाडो कृषकहरुलाई प्रोत्साहनस्वरुप प्रविधि हस्तान्तरण गरिनेछ । ५० वटा स्टल रहने महोत्सवमा प्रदर्शनी तथा बिक्रि–वितरणका लागि कृषकहरुलाई निःशुल्क स्टल उपलब्ध गराइनेछ ।

एभोकाडो खेतिका क्रममा देखा परेका रोग, प्रकोप र बजार व्यवस्थापन सम्बन्धि समस्याको समाधान गर्ने उद्धेश्यले महोत्सवको दोश्रो दिन एभोकाडो खेति सम्बन्धि सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ । पत्रकार सम्मेलनमा धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले यो बर्ष एभोकाडो खेतिको विकास एवं प्रबद्र्धनका लागि १ करोड बजेट छुट्याइएको बताए । उनले एभोकाडो खेति सम्बन्धि समस्याको समाधानका लागि नगरपालिकाले विज्ञहरु सम्मिलित परामर्श केन्द्र स्थापना गर्न लागेको जानकारी दिए । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा र पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राईले महोत्सव सफलताको शुभकामना दिए ।

धनकुटा नगरक्षेत्रमा उत्पादन हुँदै आएको सिट्रस जातको फलफूल सुन्तला, जुनार र मुन्तलाको उत्पादन घटिरहेको अवस्थामा एभोकाडोको व्यवसायिक उत्पादनमा जोड दिने उद्धेश्यले धनकुटा नगरपालिकाले २०७५ सालमा धनकुटा नगरक्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरेको छ । एभोकाडोको राजधानी घोषणासँगै परिचयमोडमा एभोकाडोको स्तम्भसहित एभोकाडो पार्क पनि निर्माण गरेर पहिलो पटक एभोकाडो महोत्सव गरिएको थियो । अहिले त्यसैलाई निरन्तरता दिने क्रममा दोस्रो एभोकाडो महोत्सव आयोजना गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!