- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा जिल्ला अस्पताललाई १०० शैयामा स्तरोन्नती गरिने भएको छ । अहिले १५ शैया रहेको जिल्ला अस्पताललाई शैया थप गरेर स्तरोन्नती गर्न लागिएको हो ।

मुख्यमन्त्री भीम आचार्यले सोमबार एक कार्यक्रमकाबीच अस्पताल स्तरोन्नती प्रकृयाको उद्घाटन गरेका छन् । कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री आचार्यले जिल्ला अस्पताललाई अब १०० शैयाको बनाइने बताए । प्रदेश सरकारले कही समय अघि अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको भन्दै उनले अब सोही बमोजिम अस्पताललाई सेवा सुविधा सम्पन्न बनाइने बताए ।

अहिले जिल्ला अस्पताललाई १०० शैयाको बनाइने र विस्तारै त्यसलाई थप बढाएर शिक्षण अस्पतालको रुपमा विकास गरिने उनले जानकारी दिए । ‘अहिले अस्पताल स्तरोन्नती प्रकृयाको थालनी गरेका छौं,’ मुख्यमन्त्री आचार्यले भने, ‘पहिलो चरणमा १०० शैयाको बनाइन्छ, त्यसपछि धनकुटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको योजना छ । ३ सय शैयासम्मको शिक्षण अस्पताल बनाउँन सकिन्छ ।’

प्रदेश १ को राजधानीका लागि अब्बल रहेर पनि धनकुटा प्रदेश राजधानी हुँन नसकेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको महत्वपूर्ण जिल्ला भएकाले धनकुटालाई विकासमा सधै प्राथमिकतामा दिइने उनले बताए ।

कार्यक्रममा प्रदेश सांसद निरन राईले धनकुटा जिल्ला अस्पताल स्तरोन्नती भएपछि यो क्षेत्रका विरामीहरुको उपचार निकै सहज हुँने विश्वास व्यक्त गरे । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले जिल्ला अस्पतालमा आवश्यक दक्ष जनशक्ति अभाव रहेको भन्दै त्यसको व्यवस्था मिलाउँन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सो अवसरमा जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले १५ शैयाको अनुमति भएपनि जिल्ला अस्पताललाई ४० शैयासम्म जेनतेन सञ्चालन गरिरहेको भन्दै अब थप स्तरोन्नती हुँदा निकै सहज हुँने बताए । जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने चर्चा निकै बर्ष अघि देखि चल्दै आएको थियो । अहिले मुख्यमन्त्रीले नै स्तरोन्नती प्रकृयाको उद्घाटन गरेर यसको थालनी गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!