कास्की । दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च्याङ्ग्राको हुल बिक्रीका लागि राखिएको हुन्छ । च्याङ्ग्रा खरिद–बिक्रीको मेला लाग्दछ ।
व्यवसायीले मुस्ताङ, डोल्पा, रोल्पा, बैतडी, बझाङलगायतका जिल्लाबाट दुई– तीन साता लगाएर हिँडाएर च्याङ्ग्रा बिक्री गर्न पोखरा ल्याइ पुर्याउँछन्। बजारमा च्याङ्ग्रा देखिन थालेसँगै सर्वसाधारणमा दसैँ आएको छनक आउँछ । हिमाली चिसो मौसममा हुर्केका, जडीबुटी खाएकाले च्याङ्ग्राको मासु दसैँमा उपभोक्ताको विशेष रोजाइमा पर्छ । स्वादिलो हुने भएकाले सकभर दसैँमा धेरैको भान्सामा च्याङ्ग्राको मासु पाक्छ । पोखरालगायत यस क्षेत्रमा बढी रुचाइएको च्याङ्ग्राको भाउ भने यस वर्ष आकाशिएको छ । व्यापारीले रोज्जा च्याङ्ग्राको मूल्य रु ५० हजारसम्ममा बिक्री गरेका छन् ।
मासु प्रतिकेजी रु दुई हजारदेखी रु दुई हजार ५०० सम्म मूल्य पर्ने गरेको छ । गत वर्षको तुलनामा २० देखि २५ प्रतिशतसम्म मूल्यवृद्धि भएपछि सामान्य र मध्यम आर्थिक अवस्थाका उपभोक्ताले भने खरिद गर्न सक्ने अवस्था छैन । च्याङ्ग्राको मूल्य आकाशिएपछि उपभोक्ताको रोजाइ अहिले खसीबोकामा छ । अधिकांशले दसैँका लागि गाउँघरमै स्थानीय खसीबोका व्यवस्था गरेका छन् ।
पोखरा–१४ चाउथेस्थित खसीबजारमा एक साताअघिदेखिबाटै ग्राहकको भीड बढेको छ । यस क्षेत्रको मुख्य बजार भएकाले यहाँ धेरै ठाउँबाट ग्राहक आउने गर्दछन् । विगतमा दसैँमा च्याङ्ग्रा खानेहरु यस वर्ष खसीबोकाको व्यवस्था गरेका छन् । पोखरा–११ फूलबारीका नवराज पौडेलले यस वर्ष च्याङ्ग्राको मूल्य छोइसक्नु नभएकाले दसैँका लागि स्थानीय खसीको व्यवस्था गरेको बताए ।
खसीबजारमा भेटिनुभएका उनले भने, “विगतका दसैँमा जहिले पनि च्याङ्ग्रा नै किन्ने गरिन्थ्यो तर अहिले भाउ छोइसक्नु छैन । त्यसैले खसीको व्यवस्था गरेको छु । मिल्यो भन्ने फ्रेस हाउसबाट एक–दुई केजी किनेर च्याङ्ग्राको स्वाद लिनुपर्ला, सिङ्गै किन्न सकिएन ।” पोखरा खसीबजार बजार व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्षको दसैँमा खसीको माग बढेको बताए । माग बढेपछि व्यवसायीले थप दुई हजार ५०० खसीबोका बजारमा ल्याउँदै गरेको उनले जानकारी दिए । बजारबाट यस वर्ष छ हजार ५०० को हाराहारीमा खसीबोका बिक्री गरिसकिएको बताइन्छ ।
“विगतका वर्षलाई हेरेर यस वर्ष व्यवसायीले दसैँमा छ हजार ५०० हाराहारीमा खसीको व्यवस्था गरेका थियौँ ।” उनले भने, “फूलपातीको एक/दुई दिनअघि नै सबै बिक्री भएपछि बजार खाली राख्नु भएन भनेर थप दुई हजार ५०० खसी ल्याउँदैछौँ ।” च्याङ्ग्राको मूल्यवृद्धि भएकाले खसीको माग यस वर्ष अत्यधिक बढेको उनले बताए ।
बजारमा आउनेहरुले च्याङ्ग्राको मूल्य बढेकाले खरिद गर्न नसकेको बताउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण होटल रेष्टुरेन्ट र पार्टी प्यालेस बन्दा हुँदा व्यवसाय नराम्रोसँग प्रभावित भएकामा दसैँमा बजार राम्रो हुँदा खसीबोका व्यवसायी उत्साहित भएका छन् । बजारमा २१ खसीबोका बिक्री गर्ने पसल छन् ।
जिउँदो खसी प्रतिकेजी रु ६०० देखि ६४५ सम्ममा यस वर्ष बिक्री गर्ने गरिएको छ । विगतमा भारतीय बजारबाट समेत पोखरामा खसीबोका आयात हुँदै आएकामा गएको एक वर्षदेखि रोकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अहिले नेपालकै उत्पादनले बजार धान्ने गरेको उनी बताउँछन् । व्यवसायीले विशेषगरी पाल्पा, नवलपरासी, सुर्खेत, तनहुँ, स्याङ्जा र दाङलगायतका जिल्लाबाट खसी ल्याउने गरेका छन् ।
पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले यस वर्ष गत वर्षको तुलनामा २५ प्रतिशतसम्म च्याङ्ग्राको मूल्य बढेको बताउँछन् । दुई/तीन दिनदेखि च्याङ्ग्रा र खसी बजारको नियमित अनुगमन गरिएको बताउँदै उनले यस वर्ष तिब्बतबाट च्याङ्ग्रा नआएकाले समेत मूल्य उच्च भएको बताए । उनले भने, “विगतमा नेपालका हिमाली जिल्लासहित चीनको तिब्बतबाट दसैँमा ठूलो सङ्ख्यामा भेडा, च्याङ्ग्रा आपूर्ति हुने गरेको थियो । तर यस वर्ष कोरोनाका कारण सीमानाका नखुल्दा तिब्बतबाट व्यापारीले ल्याउन सकेनन् । जसको प्रभाव बजारमा उच्च परेको छ । मूल्य धेरै नै वृद्धि भएको छ ।”
शाखा प्रमुख अधिकारीका अनुसार सोमबारसम्म पोखरामा हिमाली क्षेत्रबाट ९४ जना व्यापारीले १५ हजार ५० च्याङ्ग्रा र एक हजार ३०० भेडा बिक्रीका लागि ल्याएका छन् । विगतमा २० देखि २५ हजारसम्म भेडा/च्याङ्ग्रा ल्याउने गरिएको थियो । हिमाली च्याङ्ग्राको मुख्य बजार पोखरा तथा यस आसपासको क्षेत्र हो । केही व्यापारीले काठमाडौँ, नारायणगढसम्म पनि च्याङ्ग्रा लैजाने गर्दछन् ।