बाबियाचौर।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीका बासिन्दाले विद्युत् प्रसारण लाइनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत २२० केभी क्षमताको खुर्कोट–दाना प्रसारण लाइनअन्तर्गत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रममा अवरोध गरेका हुन् ।

Advertisement

आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई सर्वेक्षण गरेको भन्दा फरक ठाउँमा टावर राख्न खोजेकाले तत्काललाई काम गर्न रोकिएको स्थानीयवासी लोक खत्रीले बताए।

निर्माण कम्पनी र आयोजनाले पूर्वजानकारी नदिई डोजर ल्याएर एक्कासि टावरको जग खनेको स्थानीयवासीको गुनासो छ ।

उनीहरुले बस्तीलाई असर नपर्ने ठाउँमा टावर राख्न र प्रसारण लाइन लैजाने आयोजनालाई अनुरोध गरेका छन् । अहिले बनाउन लागिएको ठाउँमा टावर राख्दा वरपरका २० घरधुरी विस्थापित हुने खत्रीले बताए।

स्थानीयवासीको अवरोधपछि आयोजनाको काम रोकिएको छ । ३० कामदार र एकवटा डोजर त्यहाँ परिचालन भएका थिए । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले प्रभावित क्षेत्रको बासिन्दा र आयोजनाबीच छलफल गरेर समस्या समाधानका लागि पहल भइरहेको बताए।

कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले पर्वतको खुर्कोट र म्याग्दीको दानामा सब स्टेसनका साथै ३८ किलोमिटर दूरीको प्रसारण लाइन निर्माणको काम गरिरहेको छ । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!