- संगालोखबर सम्वाददाता

काठमाडौं । नवनियुक्त उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री नियुक्त भएको तीन दिन नबित्दै आज पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट सांसद नै नभएको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै आलोचना भएपछि मन्त्री हमालले राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहान राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्री देउवाले उनलाई असोज २२ गते मन्त्री नियुक्त गरेका हुन् । उनी प्रधानन्यायाधीश जवराका जेठानसमेत हुन् । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवासँग प्रधानन्यायाधीश जवराले मन्त्री कोटा मागेको आरोप लाग्दै आएको थियो । आरोपकै बीच प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश जवराका जेठानसमेत रहेका हमाललाई मन्त्री नियुक्त गरेपछि चौतर्फी आलोचना भएको हो ।

न्यायलय प्रभावित भएर फैसला गरी मन्त्रीको भाग मागिएको भन्दै आलोचना भइरहेको छ । सांसद रहेका योग्य व्यक्तिहरु हुँदा हुँदै सांसद नै नभएको व्यक्तिलाई मन्त्री नियुक्त गरेको भन्दै कांग्रेस पार्टी भित्रबाटै पनि देउवाको आलोचना भइरहेको छ । चौतर्फी आलोचना हुँन थालेपछि मन्त्री हमालले आफु विवादमा नफस्ने भन्दै स्वविवेक प्रयोग गरी राजीनामा दिन लागेको सञ्चारमाध्यमहरुलाई बताएका थिए ।

राजीनामा दिन अगाडि नै सञ्चारमाध्यमबाट हल्ला भएपछि प्रधानमन्त्रीलाई राजीनामा स्वीकृत गर्न दवाव पर्ने भएकाले आफुले सञ्चारमाध्यमहरुमार्फत राजीनामा घोषणा गरेको मन्त्री हमालको भनाई छ ।

यता, विवादित भएपछि प्रधानमन्त्री देउवाले मन्त्री हमाललाई राजीनामा दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले दावी गरेको छ । यसैबीच, प्रधानमन्त्री देउवाले हमालको राजीनामा स्वीकृत गरेका छन् । योसँगै उनी अब पदमुक्त भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!