- रबिन कटेल/संगालोखबर
पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै प्रहरी । तस्बीरः सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा प्रहरीले नक्कली नोटको कारोवारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । असोज ११ गते मुलघाटबाट २८ हजार नक्कली नोटसहित दुई युवा पक्राउ परेपछि उनीहरुको सञ्जाल पहिल्याउँने क्रममा प्रहरीले धनकुटा, सुनसरी र काठमाडौंबाट थप पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का २६ बर्षीय विशाल तामाङ्ग, ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ घर भई हिले बस्दै आएका २६ बर्षीय छितेन तामाङ्ग, हिलेकै २४ बर्षीय सोनम तामाङ, महालक्ष्मी नगरपालिका–८ का २६ बर्षीय सुमन खड्का, महालक्ष्मी–९ का २४ बर्षीय तुलसी खवास र सोही स्थानका २१ बर्षीय विकास तामाङ्ग छन् । पक्राउ परेका सुमन हिलेको डार्विन फार्मेसीका सञ्चालक हुन् । तुलसी, तरकारी बोक्ने गाडीका चालक हुन् भने विकासले टाटा सुमो चलाउँदै आएका छन् । उनीहरुलाई धनकुटा प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

Advertisement

प्रहरीका अनुसार लागुऔषध खरिद गर्न धरान जाँने क्रममा विशाल र छितेन नक्कली नोटसहित मुलघाटबाट पक्राउ परेका हुन् । त्यसपछि नक्कली नोटको कारोवार गर्ने सञ्जाल पहिल्याउँदै सोनम र सुमनलाई हिले, तुलसीलाई सिधुवा र विक्रमलाई इटहरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए । ‘विशाल र छितेन लागुऔषध किन्न राती धरान जाँदै गरेका बेला शंका लागेर मुलघाटको चेकपोष्टमा खानतलासी गर्दा उनीहरुको साथबाट नक्कली पैसा भेटियो,’ डिएसपी रायले भने, ‘त्यसपछि थप अनुसनधान गर्ने क्रममा हिले, सिधुवा र इटहरीबाट वाँकी चार जनालाई पक्राउ गरेका हौं, काठमाडौंबाट पनि एक जनालाई पक्राउ गरेर ल्याएका छौं ।’

नक्कली नोट कारोवारको ‘कनेक्सन’ खोज्ने क्रममा प्रहरीले काठमाडौंबाट पनि एक युवालाई पक्राउ गरेर धनकुटा ल्याएको हो । तर, उनको पहिचान खुलाइएको छैन । नक्कली नोट कारोवारीको सञ्जाल पहिल्याउँने काम भइरहेकाले अनुसन्धान प्रभावित हुँनसक्ने भन्दै प्रहरीले उनको पहिचान गोप्य राखेको हो । पक्राउ परेकाहरुबाट एक लाख नक्कली रुपैयाँ बरामद भएको छ । सोनमको घरबाट ६५ हजार, छितेनको साथबाट २८ हजार, विशालको घरबाट ५ हजार र विशालले मुलघाटमा फालेको २ हजार नक्कली पैसा बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएका सबै एक हजार दरका नोट छन् । ती नोट छाम्दा सक्कली भन्दा केही नरम छन् ।

प्रहरीका अनुसार सुरुमा दुई जना पक्राउ परेपछि फार्मेसी सञ्चालक सुमनले आफु पनि पक्राउ पर्नसक्ने डरले प्रमाण नष्ट गर्न एक लाख रुपैयाँ नक्कली नोट जलाएर नष्ट गरेको पाइएको छ । उनीहरुले लागुऔषधको कारोवार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नक्कली नोट कारोवारको जालो पहिल्याउँदै प्रहरी

नक्कली नोटको कारोवार भइरहेको भेटिएपछि प्रहरीले यो कारोवारको जरासम्म पुग्ने प्रयास गरिरहेको छ । असोज ११ गते मुलघाटबाट २८ हजार नक्कली नोटसहित विशाल र छितेन पक्राउ परेपछि प्रहरीले यो अनुसन्धानलाई गहन रुपमा अघि बढाएको छ । उनीहरु पक्राउ परेको जानकारी बाहिरिएपनि प्रहरीले यो बिषयमा १० दिनसम्म मुख खोलेन । पत्रकारहरुसँग पनि प्रहरीले यो बिषय गोप्य राख्यो, सोध्दा पनि बताउँन चाहेन ।

पत्रकार सम्मेलनमा जानकारी दिदै डिएसपी राय । तस्बीरः सन्तोष सुवेदी/ संगालोखबर

कारोवार गर्नेहरुको सञ्जाल पहिल्याउँने क्रममा ७ जना पक्राउ परेपछि बल्ल प्रहरीले विवरण सार्वजनिक गर्यो । तर, काठमाडौंबाट पक्राउ परेका एक जनाको अझै पहिचान खुलाइएको छैन । प्रहरी अझै गहिराइमा पुग्न अनुसन्धान गरिरहेको छ । ‘नक्कली नोट कारोवार गर्नेहरुको जरासम्म पुग्न खोज्दैछौ, थप अनुसन्धान भइरहेकाले एक जनाको परिचय गोप्य राखेका हौ,’ डिएसपी रायले भने ।

नक्कली नोट कहाँ छापिन्छ र कसरी बाहिरिन्छ भन्ने यकिन भइसकेको छैन । यो बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कसरी भयो धनकुटादेखि काठमाडौंसम्मको ‘कनेक्सन’ ?

नक्कली नोट कारोवारको जालो पहिल्याउँने क्रममा प्रहरीले धनकुटामा काठमाडौंबाट नक्कली नोट आएको निष्कर्ष निकालेको छ । लागुऔषध कारोवार गर्नेहरुबाट नक्कली नोट भित्र्याइएको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेकाहरुको बयान उदृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार टाटासुमो गाडी चलाउँदै आएका महालक्ष्मी–९ का विकास गाडी मर्मत गर्न गत भदौं पहिलो साता काठमाडौं गएका थिए । त्यो बेला उनी झण्डै दुई साता काठमाडौं बसपार्क क्षेत्रको एक होटलको कोठामा बसे । होटलको अर्को कोठामा बसेका एक युवासँग उनको चिनजान भयो । लागुऔषध प्रयोगकर्ता भएकाले उनीहरु घुलमिल भए ।

काठमाडौंका ती युवाले धरानमा सस्तो मुल्यमा ब्राउन सुगर पाइने भन्दै ब्राउन सुगर किनेर पठाइदिन विकासलाई ३० हजार सक्कली पैसा दिए । काठमाडौंबाट फर्किएपछि विकासले ब्राउन सुगर किनेर दिनु भन्दै इटहरीका युवालाई त्यो पैसा बुझाए । तर, इटहरीका युवा पैसा पाएपछि सम्पर्कबिहिन भए । यता, पैसा दिएर किन्न पठाएको ब्राउन सुगर नआएपछि काठमाडौंका युवा एक सातापछि इटहरी आए । पुनः बिकास र उनीबीच भेट भयो । विकासले पैसा दिन नसकेपछि काठमाडौंका युवाले विकासलाई आफुसँग नक्कली नोट रहेको भन्दै त्यो नोट साटेर ब्राउन सुगर पनि किन्न र आफ्नो ३० हजार पनि फिर्ता दिन प्रस्ताव गरे । सोही बमोजिम काठमाडौंका युवाले विकासलाई नक्कली नोट दिए ।

बरामद भएको नक्कली नोट । तस्बीरः सन्तोष सुवेदी/संगालोखबर

विकाससँग नक्कली नोट रहेको कुरा महालक्ष्मी–९ नै घर भएका अर्का चालक तुलसीलाई पनि थाहा थियो । विकास र तुलसी ब्राउन सुगर सेवन गर्न हिलेमा डार्विन फार्मेसी चलाउँदै आएका सुमनकोमा आउँने गरेका थिए । सोही क्रममा तुलसीका माध्यमबाट फर्मेसी सञ्चालक समुनले नक्कली पैसा विकाससँग भएको थाहा पाए । तुलसीकै समन्वयमा पछि उनले २ लाख नक्कली पैसा विकासबाट लिए ।

फार्मेसी सञ्चालक सुमनले १ लाख नक्कली पैसा विसाललाई दिए र एक लाख आफैसँग राखे । त्यही पैसा लिएर विसाल र छितेन राती धरानमा ब्राउन सुगर किन्न जाने क्रममा मुलघाटमा पक्राउ परे । उनीहरुसँग नक्कली नोट बरामद भएपछि प्रहरीले नक्कली नोट कारोवार गर्नेहरुको जालो पहिल्याउँदै सात जनालाई पक्राउ गरेको हो । नक्कली नोट कारोवार गर्ने थप व्यक्तिहरु र छापिने ठाउँसम्म पुग्न प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!