तेह्रथुम । कुलो थुनिएर गएको पहिराले घर पुरिँदा आमा र छोराछोरी गुमाएका म्याङ्लुङ नगरपालिका–५, आम्दिमका सोमकुमार सोदेम्बाको परिवारलाई शुक्रबार राहत प्रदान गरिएको छ ।

सोदेम्बाको परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले रु तीन लाख ३० हजार र समाजसेवी राधिका पोखरेलले रु २० हजार राहतस्वरुप प्रदान गर्नुभएको हो ।

Advertisement

सदरमुकाम म्याङ्लुङमा पोखरेलले पहिरोपीडित परिवारलाई पठाएको सहयोग रकम रु २० हजार प्रजिअ वेदनिधि खनालले पीडित सोदेम्बाको परिवारलाई हस्तान्तरण गरे ।

प्रजिअ खनालले उद्धार समितिले पीडित परिवारलाई राहत, क्षतिपूर्ति र काजकिरिया खर्चबापत एकमुष्ट रकम उपलब्ध गराइएको बताउनुभयो ।

गत असार १७ गते घरमाथिको कुलो थुनिएर पहिरो जाँदा सोदेम्बाको घर पुरिएको थियो । पहिराले सोदेम्बाका आमा ५० वर्षीया कुमारी, छोरी १२ वर्षीया प्रीति र छोरा नौवर्षीय प्रेमको ज्यान गएको थियो ।

घर पुरिँदा घाइते भएका ३६ वर्षीय सोदेम्बा उपचाररत छन् । मंगलबार मात्रै उनकी छोरी प्रियाको हातको शल्यक्रिया भएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घरसहित परिवारका सदस्य नै गुमाएका सोदेम्बाको परिवार अर्थ अभावले पिल्सिरहेको छ । उनको परिवारको पीडा शान्त पार्न आफूले सहयोग गरेको जिल्लाकै सोल्मा घर भई हाल अष्ट्रेलियामा कार्यरत पोखरेलले बताए ।

पीडित परिवारले भने सरकारबाट तर्फबाट आफूले पाउने राहतसमेत पाउन ढिलाइ भएकामा गुनासो गरेको छ । परिवारका खातामा राहत रकम जम्मा भइसके पनि झिक्न नपाएको सोदेम्बाले गुनासो गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!