- संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाको बैठकले चार वटा कार्ययोजना र १४ वटा समसामयिक प्रस्ताव पारित गरेको छ । माओवादी केन्द्रले धनकुटामा पत्रकार सम्मेलन गरेर बैठकका निर्णयहरुका बारेमा जानकारी दिएको हो ।

Advertisement

माओवादी केन्द्रका जिल्ला संयोजक ऋषिराम ढुंगानाको अध्यक्षतामा गत शुक्रबार पार्टी जिल्ला समन्वय समितिको बैठक बसेको थियो । सो बैठकका निर्णयहरु आइतबार सार्वजनिक गरिएको हो । बैठकमा पार्टीको ७ वटै स्थानीय तहका नेताहरुले त्यहाँको बारेमा रिपोटिङ्ग गरेका थिए । रिपोटिङ्ग गरिएको विषयमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हेमराज भण्डारीले संबोधन गर्दै राष्ट्रिय राजनीति, पार्टीले अबलम्बन गरेको भावी कार्यदिशाका बारेमा जानकारी गराएका हुन् ।

बैठकले भदौ मसान्त भित्रमा पार्टी सदस्यता नवीकरण तथा नयाँ वितरण गर्ने, असोज १० गतेभित्र पार्टीको सेल, टोल कमिटि गठन/पुर्नगठन गर्ने, असोज २० गतेभित्र वडा कमिटिको भेला/सम्मेलन गर्ने र कात्तिक ६ गतेभित्र नगर/गाउँपालिका सम्मेलन गर्ने कार्ययोजना पारित गरेको छ ।

त्यस्तै जिल्लाको सरोकारका विषय र विकास निर्माणलाई मध्यनजर गरी १४ बँदे समसामयिक प्रस्ताव पनि बैठकले पारित गरेको जिल्ला संयोजक ढुंगानाले जानकारी दिए । धनकुटा अस्पतालमा तत्काल डाक्टरको व्यवस्था गराउँन र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरिएको छ । धनकुटामा संचालित विकास आयोजनाहरुमा आर्थिक अनियमितता हुँने गरेको गुनासो आएको भन्दै त्यसको भण्डाफोर गर्ने, धनकुटामा निर्माण गर्ने भनिएको प्रादेशिक अस्पताल स्थापनाका लागि पहल गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको छ ।

त्यस्तैगरी धनकुटामा विद्युत अनियमित हुने समस्या र खानेपानी समस्याको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँने निर्णय भएको छ । त्यस्तै बेलहारा डाँडामा विमानस्थल निर्माणका लागि प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव पनि बैठकले पारित गरेको जिल्ला इन्चार्ज भण्डारीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!