चितवन । वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको छ ।
मानवीय कारण नै सर्प लोपोन्मुख बन्दै गएको अनुसन्धानकर्ताले बताएका छन् । आज नागपञ्चमी पर्व हिन्दूहरुले घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर धुमधामसंग मनाइरहँदा पनि सर्प देख्नेबित्तीकै मार्ने प्रवृत्ति कायमै छ ।
“सर्पले टोक्नेबित्तिकै मानिस मर्छ भन्ने परम्परागत धारणा मानिसमा छ,” सर्प र भ्यागुताको अध्ययन गर्नुभएका राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका संरक्षण अधिकृत सन्तोष भट्टराईले भने, “यसले टोकेर मानिस मरिहाल्दैन ।” असावधानी अपनाउँदा र झारफुकमा लाग्दा जोखिम बढी हुन्छ ।
त्यसमाथि सबै सर्प विषालु पनि नहुने भएकाले सावधानी अपनाउँदा र चाँडै अस्पताल पुग्दा विषालु सर्पले टोके पनि मानिसको ज्यान बच्छ ।
सर्पको उद्धार तथा अध्ययनमा सक्रिय रहनुभएका सर्प संरक्षण समाज पोखराका अध्यक्ष महेन्द्र कतिलाका अनुसार सर्प त मानिसको शत्रु नभई मित्र हो । सर्पको विषले औषधि बन्छ । मुसा खाएर किसानको बाली संरक्षणमा समेत सर्पले सहयोग पु¥याउने तथा पारिस्थितिक चक्रमा ठूलो भूमिका खेल्छ ।
क्यान्सर रोगमा समेत सर्पको विषको अनुसन्धान भइरहेको छ, सर्पले टोकेको उपचार नै सर्पकै विषबाट हुन्छ, नशासम्बन्धीको उपचारमा पनि यसकै विष प्रयोग हुने गरेको कतिलाको भनाइ छ । “सर्पसँग मणि हुन्छ भन्ने परम्परागत भनाई यसैसँग मिल्छ, विष नै उसको मणि हो, सहीरुपमा प्रयोग गर्न जान्नुपर्छ” – कतिलाले भने ।
सर्प मांसाहारी घस्रने प्रजातिमा पर्छ । लामो शरीर हुन्छ । खु¥ट्टा हुँदैन । शुरुमा मान्छे देख्दा सर्प भाग्न खोज्छ । मानिसलाई कहिल्यैपनि सर्पले आक्रमण गर्दैन । आत्मरक्षाका लागि मात्रै सर्पले आक्रमण गर्ने सर्प उद्धार तथा संरक्षणमा लागेका युवा रोहीत गिरी बताउँछन् ।
उहाँले अहिलेसम्म विभिन्न जिल्लामा १०० सर्पको उद्धार गरिसक्नुभएको छ । ‘मानिसमा जनचेतनाको कमि छ, सर्पले मान्छे मार्छ भन्ने भ्रम भएकाले मानिसले देख्नेवित्तीकै यसलाई मार्छन,् गिरीले भने, सर्प हाम्रो सहयोगी हो भनेर बुझाउन नसक्नु विडम्बना छ ।’
गलत सोचका कारण लोपोन्मुख बन्दै गएको सर्पको पछिल्लो समयमा संरक्षणका आवाजहरु बढ्न थालेका छन् ।
बढ्दो शहरीकरण र मानिसको नकारात्मक सोचले सर्पको जीवन खतरामा पर्ने गरेको छ । मानिस त्यसै डराउने हुनाले देख्नेबित्तिकै सर्पलाई मार्छन् । मानिसमा सर्पको आनीबानीबारे ज्ञान नहुँदा नकारात्मक सोचले सर्पको ज्यान खतरामा पर्ने गरेको अर्का संरक्षणकर्मी सागर गिरीले बताए ।
सर्पले टोकेमा झारफुक गर्ने, घरेलु उपाए अपनाउने गर्दा पनि ज्यान जाने गरेको उदाहरण छन् । कसैको रोग प्रतिरोधात्मक क्षमता कम हुँदा र बढी डराउँदा पनि ज्यान जोखिममा पर्ने संरक्षणकर्मी बताउँछन् ।
नेपालमा अहिलेसम्मको अभिलेखमा ८२ प्रजातिका सर्प फेला परेका छन् । पाँच, छ प्रजातिका नयाँ भेटिएका सर्पहरुको अहिले अनुसन्धान भइरहेको सर्पका जानकार महेन्द्र कतिलाले जानकारी दिए ।
नेपालमा पाइनेमध्ये २२ प्रजातिका सर्प विषालु रहेका छन् । करेत, कोब्रा, भाइपर प्रजातिका सर्प बढी विषालु हुन्छ । विश्वमा तीन हजारभन्दा बढी प्रजातिका सर्प रहेको तथ्यांक छ ।
सर्पले टोकेमा टोक्नेबित्तीकै आत्तिनुहुन्न । प्राथमिक उपचारमा आराम गर्ने र सुरक्षित अवस्थामा राख्ने । धेरै हल्लिन नदिने टोकेको ठाउँमा काम्रो बानेर समयमै एन्टी स्नेक भेनम भएको अस्पताल लैजाँदा ज्यान जोगिन्छ ।
अहिले पनि सर्पलाई नागका रुपमा पूजा गरिन्छ । पुरानो कथामा सर्पलाई पवित्रताको प्रतीक मानिए पनि यसलाई मार्ने प्रवृत्ति रोक्नतर्फ ध्यान दिनु जरुरी छ ।
सर्पमा अध्ययन गर्नुभएका संरक्षणकर्मी सन्तोष भट्टराईले सरीसृप प्रजातिमध्ये गोही, अजिंगर र गोहोरोलाई मात्रै संरक्षण सूचीमा राखेकाले सरकारले अरु सर्पलाई समेत ध्यान दिनु जरुरी भएको बताउँछन् ।
अफ्रिकातिर सर्प पर्यटनको विकास भइरहेको छ । तर नेपालमा यसतर्फ कसैको ध्यान गएको छैन । नेपालमा पनि सर्प पर्यटनको विकास गर्न सकिन्छ,सर्प संरक्षण समाजका अध्यक्ष महेन्द्र कतिलाले भने – “सर्पको बासस्थान संरक्षणमा जोड दिन सक्नुपर्छ ।” उनले नेपालमा सर्पका सम्बन्धमा धेरै अध्ययन, अनुसन्धान हुन बाँकी रहेको बताए।