
विराटनगर । विराटनगर महानगरपालिका-१४ स्थित आईसीपी मोडमा आज साँझ भारतीय गाडीको ठक्करबाट साइकलमा सवार बाबु-छोरीको मृत्यु भएको छ । भारतबाट एलपी ग्यास लिएर आएको एएस ०१ एफसी ०९१९ नम्बरको ग्यास बुलेटले साँझ करिब ५ बजे साइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट विराटनगर-१४ जतुवाका ४२ वर्षीय शिवचरण ठाकुर र उनकी चोरी १४ वर्षीया गरिमा ठाकुरको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिए । गरिमा, जतुवास्थित बाल माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् । उनलाई स्कुलबाट बुवा शिवचरणले साइकलमा राखेर घर फर्कँदै गर्दा ट्रकले पछाडिबाट ठक्कर दिएको हो ।

घटनापश्चात उनीहरूलाई उपचारका लागि कोशी अस्पताल ल्याइएको भएपनि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका छन् । मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटनापछि ग्यास बुलेट र चालक रामलाल सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


संगालोखबर 

















