
विराटनगर । विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकाहरूलाई भारतको बिहार राज्यबाट उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित ‘किन इन्डिया’ नामक संस्थाको को समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको हो ।
उद्धार गरिएका बालबालिकालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी विराटनगर ल्याएर नेपाल प्रहरी प्रदेश कार्यालय धरानको रोहबरमा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी मार्फत आज परिवारको जिम्मा लगाइएको छ ।
बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र कोशीका प्रदेश समन्वय अधिकृत सुमन अधिकारीका अनुसार गत बैशाख ४ गते तीन जना बालक र तीन जना बालिकाको उद्धार गरिएको थियो ।
उद्धार गरिएका बालबालिकामध्ये चार जना कोशी प्रदेशका रहेका छन् भने अन्य दुई जना मधेश प्रदेशका हुन् । केन्द्रका अनुसार उदयपुरको बेलका नगरपालिकाका १, चौदण्डीगढी नगरपालिकाका २, विराटनगर महानगरपालिका १ र मधेश प्रदेशका २ जना बालबालिकाको उद्धार भएको हो ।
हराएका बालबालिकाको खोजतलासका लागि अभिभावकले निवेदन दिएका थिए । त्यसपछि नेपाल प्रहरी, भारतीय निकाय र सम्बन्धित संस्थासँग समन्वय गरी खोजी अभियान सञ्चालन गरिएको थियो ।
‘किन इन्डिया’का कार्यकारी निर्देशक नवीन जोशीका अनुसार विभिन्न प्रलोभनमा परेर बालबालिकाहरू भारत जानेगरेका छन् । विशेष गरेर सामाजिक सञ्जालमा भएको चिनजानका आधारमा राम्रो काम पाउने आश्वासनमा बालबालिकाहरू हराउने गरेका उनको भनाइ छ ।
‘यस्तो विषयमा अभिभावक पनि सचेत हुन आवश्यक छ । बालबालिकाहरू पनि आश्वासनमा पर्न हुँदैन’, उनले भने, ‘यसले धेरै जोखिम निम्त्याउँछ । कसैले राम्रो काम पाइन्छ भन्दै खर्च पनि पठाएर बोलाउने गरेको पाइन्छ ।’
उनका अनुसार ६ वर्षदेखि ७० वर्ष उमेर समूहसम्मका नेपालीलाई उद्धार गरेर परिवारको जिम्मा लगाइसकिएको छ । ३० वर्षसम्म सम्पर्कविहीन भएका व्यक्तिलाई समेत उद्धार गरेर परिवारसँग पुनर्मिलन गराइसकिएको उनले बताए । सन् २०१८ मा स्थापना भएको संस्थाले हालसम्म ११ सय बढीको उद्धार गरिसकेको जोशीले जानकारी दिए ।


संगालोखबर 

















