चौतारा । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पहिराले क्षतिग्रस्त सिन्धुपाल्चोकको भोटेकोशी नदीको लार्चा पुलको बिहीबार निरीक्षण गर्दै सम्बन्धित निकायका प्रमुखलाई तदारुकताका साथ काम गरी स्थानीय बासिन्दालाई सुविधा दिन निर्देशन दिएका छन् ।

Advertisement

तातोपानी नाका जोड्ने अरनिको राजमार्गअन्तर्गत फुल्पिङकट्टीको लार्चा पुल बाढीले बगाएपछि आवतजावत गर्न अस्थायी रुपमा फलामे सत्तरी राखेर बनाइँदै गरेको फट्के राखिएको कामप्रति सन्तोष व्यक्त गर्दैै उनले जति सक्दो छिटो काम गरी स्थानीयवासीलाई सुविधा उपलब्ध गराउन निर्देशन दिए ।

सो ठाउँमा सडक विभागले बेलिब्रिज बनाउन केही दिनभित्रै सामान झार्ने भएको छ । बेलिब्रिज तयार हुन करीब दुई महीना समय लाग्ने हँदा अस्थायी फट्केको अतिरिक्त तुइनसमेत राख्ने व्यवस्था मिलाइएको कामु प्रजिअ अन्तरबहादुर सिलवालले जानकारी दिए ।

पुल बगाएसँगै पुलको तल्लो भागबाट लगिएको विद्युत् तारसमेत बगाएको हुँदा पाँच दिनदेखि तातोपानी क्षेत्र पूरै अन्धकार हुनाका साथै सञ्चार सेवासमेत अवरुद्ध भएको सीमा प्रहरीका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए ।

बाढी र पहिराले सडक तथा पुल बगाएपछि सडक विभाग र जलउत्पन्न प्रकोप विभागलगायतले सँगै काम गर्दै आएका छन् ।

अविरल वर्षासँगै झरेको पहिराले बाह्रबिसे–तातोपानी सडकखण्डको २६ किमी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुगेकाले पैदलयात्रा गर्नसमेत कठिनाइ भएको स्थानीयवासीले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!