काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकले पार्टीको विधान संशोधन गरेको छ । कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता रहने गरी विधान संशोधन गरेको हो ।
क्रियाशील सदस्यको अधिकार कटौती गर्दै पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउने गरी विधान संशोधन गरिएको छ । यसअघि पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुन्थे । कोरोना महामारीका बेला भीडभाड कम गर्न विधान संशोधन गरिएको कांग्रेसले जनाएको छ ।
यसअघि विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/महानगरपालिका क्षेत्रभित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य हुँने उल्लेख थियो ।
तर, त्यसलाई संशोधन गरेर गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने निर्णय भएको छ । संशोधित विषय मंसिरका लागि तय गरिएको १४ औं महाधिवेशनबाट अनुमोदन गराइने बताइएको छ ।