विराटनगर । प्रदेश सभाले चार बर्षसम्म प्रदेशको नामसमेत टुंगो लगाउँन नसकेर आलोचना भइरहेका बेला प्रदेश सांसद लोकप्रसाद संग्रौलाले प्रदेश सभा बैठकको भत्ता र यातायात खर्च दिन माग गरेका छन् । आइतवार प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको चौविसौं बैठकमा बोल्दै सांसद् संग्रौलाले बैठक भत्ता र यातायात खर्च माग गरेका हुन् ।
प्रदेश सभाको सुन्य समयमा वोल्दै समानुपातिक सांसद संग्रौलाले लुट्न, भुट्न र खान पुग्ने तर प्रदेश सांसदहरुलाई यातायात खर्च र भत्ता दिन नपुग्ने भन्दै प्रश्न गरे । ‘हाम्रा माननीय ज्यूहरु धेरै पहाडी जिल्लाहरुबाट आउँनुभएको छ, सवैसँग गाडी नहुँन नक्छ, रिक्सामा आउँनुहुन्छ, सफारीमा आउँनुहुन्छ तर, यातायात खर्च र यो बैठक भत्ता चै किन नदिएको ?,’ प्रश्न गर्दै सांसद संग्रौलाले भने, ‘सबै कुरा पुग्छ, लुट्न भुट्न खान सबै पुग्छ, सानदार गाडी चढ्न पुग्छ तर प्रदेशका माननीयहरुलाई भत्ता र यातायात खर्च दिन मिल्दैन ?’
प्रदेश सभाले नाम, राम्रो बस्ने ठाउँ र दाम पनि नदिएको उनले गुनासो गरे । ‘प्रदेश सभामा प्रवेश गरेको चार बर्ष वितिसकेछ, यो प्रदेश सभाले नाम पनि दिएन, रामो बस्ने ठाउँ पनि दिएन र दाम पनि दिएन,’ सांसद संग्रौलाले भने ।
उनले प्रदेशको नाम दिन नसकेर प्रदेशको गरिमा कमजोर भएको उल्लेख गरे । प्रदेश सभाको निर्माणाधिन भवन कबड हल जस्तो भएको उनले टिप्पणी पनि गरेका छन् ।