संगालोखबर सम्वाददाता
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् । आजको बैठकको विशेष समयमा बोल्ने राष्ट्रिय सभाका सदस्यहरुले यस्तो आग्रह गरेका हुन् ।

बैठकमा सदस्य डा.विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार गर्न र संसदप्रति जवाफदेही बन्न सरकारलाई आग्रह गरिन् । सदस्य डा.खिमलाल देवकोटाले सरकार पारदर्शी रुपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै ज्येष्ठ नागरिकका मुहारमा खुशी ल्याउने कार्यक्रम ल्याउन सुझाव दिए । सदस्य शेरबहादुर कुँवरले दार्चुलामा तुइनबाट सीमापार गर्न लाग्दा बेपत्ता भएका नागरिकका सम्बन्धमा सरकारले देशको स्वाभिमान उँचो राख्ने गरी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

Advertisement

अर्का सदस्य जीतेन्द्रनारायण देवले विगतका समयमा आमूल परिवर्तनका लागि भएको आन्दोलनको मर्म र भावनाअनुसार नयाँ सरकारले काम गर्न र वर्तमान गठबन्धन लामो सयमसम्म अघि बढेमा सङ्घीयता, समावेशीता, गणतन्त्र र रुपान्तरणका कार्यसूची सफल हुने बताए । सदस्य चक्रप्रसाद स्नेहीले छिमेकी भारतले नेपालसँग ‘रोटी र बेटी’ को सम्बन्ध भनेपछि पनि यसअनुसारको व्यवहार नभएको टिप्पणी गरे ।

सदस्य खेमकुमार विकले प्रतिनिधिसभा दुई पटकसम्म विघटन हुनुले जनताको सार्वभौम थलोमाथि आक्रमण भएको बताए । सदस्य देवेन्द्र दाहालले सदनमा विधेयक ल्याउन सरकारसँग आग्रह गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!