सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । भारी बर्षाका कारण शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएको बाढीले सो क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगाएको प्रहरीले जनाएको छ । ग्याल्थुम बजारका ४० घर जोखिममा छन् । त्यस्तै, चनौटेस्थित मोटरेबल पुल र हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुल पनि बगाएको छ ।
हेलम्बु किउलका तिम्बु, ग्याल्थुम र मेलम्ची नगरको बजार क्षेत्रका स्थानीय मेलम्ची नदीको सतह बढेपछि सुरक्षित स्थानमा सरेका छन् । जसका कारण मानवीय क्षति भने भएन । बाढीले मेलम्ची बजारस्थित रेडियो मेलम्चीको भवन ढलेको छ ।
गत असार १ गते पनि मेलम्चीमा बाढीले वितण्डा मच्चाएको थियो । बाढीका कारण पाँच जनाले ज्यान गुमाएका थिए भने २० जना अझै बेपत्ता छन् ।