- संगालोखबर सम्वाददाता

धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री ढुवानी गर्ने गाडी दुर्घटनामा परी धनकुटा नगरपालिका–१ निगालेका ३५ बर्षीय सोजिन्द्र राईको मृत्यु भएको हो ।

घटना गत शनिवारको हो । राती करिब ८ बजे दुग्धजन्य सामाग्री पुर्याउँन जाँदै गर्दा उँटसँग ठोक्किएर गाडी दुर्घटना भएको बताइएको छ । तीन बर्ष अघि साउदी गएका राई गाडीमा चालकको काम गर्दै आएका थिए । उनी आफैले गाडी कुदाएका बेला दुर्घटना भएको हो ।

दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । उनीसँगै बस्दै आएका साथीहरुले मृतकका आफन्तलाई घटनाको विषयमा जानकारी गराएका हुन् । ‘उँटसँग ठोक्किएर गाडी दुर्घटना भएछ । हाम्रो बेहाल भयो,’ मृतककी शोकाकुल श्रीमती नेत्रकुमारीले भनिन्, ‘लाश घर ल्याउँन आफन्तहरुले पहल गर्दै हुनुहुन्छ, कहिले आइपुग्ने हो पत्तो छैन ।’

दुर्घटनामा परी एक जना घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मृतक राईको शव स्थानीय अस्पतालमा रहेको र नेपाल ल्याउँन पहल भइरहेको वैदेशिक रोजगारीमा रहेका मृतकका छिमेकी बावुराम तितुङले संगालोखबरलाई जानकारी दिए । मृतक राईका श्रीमतीसहित ११ बर्षीय एक छोरा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!