- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक गठबन्धन सम्बद्ध नेता कार्यकर्ता र प्रहरीबीच बुधबार जिल्ला प्रशासन कार्यालयमा घम्साघम्सी भएको छ । पाख्रीवास नगरसभामा तोडफोड गरेको भन्दै दर्ता भएको मुद्दा खारेज गनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्षलाई रिहाई गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीका नेता कार्यकर्ता र प्रहरीबीच दिउँसो घम्साघम्सी भएको हो ।

Advertisement

बजारबाट नेता कार्यकर्ताहरु प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासन कार्यालय अगाडि प्रहरीले रोकेपछि दुई पक्षबीच ठेलाम्ठेल भएको हो । प्रहरी र प्रदर्शनकारीबीच झण्डै एक घण्टासम्म घम्साघम्सी भएको थियो । जिल्ला स्तरीय नेताहरु पनि प्रहरीसँग घम्साघम्सीमा उत्रिएका थिए । अन्ततः उनीहरुले प्रशासन कार्यालयको गेट अगाडि कोणसभा गरेका छन् । सभालाई संवोधन गर्दै नेताहरुले आफ्ना माग संवोधन नभए आन्दोलन थप चर्काउँने चेतावनी दिएका छन् । सो क्रममा उनीहरुले पाख्रीवास नगरपालिकाका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरकारविरुद्ध पनि नाराबाजी गरेका थिए ।

राजनीतिक पूर्वाग्रहका आधारमा बजेटको सिलिङ तोकिएको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले असार १० गते पाख्रीवास नगरपालिकाको आठौं नगरसभामा हुलदंगा र तोडफोड गरेका थिए । तोडफोडबाट आधा दर्जन झ्यालका सिसा फुटेका छन् भने दर्जनौं कुर्सी तोडफोड भएका छन् ।

घटनामा संलग्न भएको भन्दै पाख्रीवास नगरपालिकाको तर्फबाट १५ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइएको छ । प्रहरीमा उजुरी परेपछि पाख्रीवास–४ का वडाध्यक्ष सोवित निरौलाले गत बिहिबार प्रहरी समक्ष गिरफ्तारी दिएका छन् । वाँकी १४ जना फरार छन् । उनीहरु विरुद्ध दर्ता भएको मुद्दा फिर्ता हुनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्ष निरौलालाई विना सर्त रिहाई गर्नुपर्ने माग गर्दै चार दल सम्मिलित गठबन्धनले आन्दोलन गर्दै आएका छन् ।

यता, नेकपा एमालेले भने तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गरी काबारहीको दायरामा ल्याउँन प्रशासनलाई दवाव दिदै आएको छ । एमाले सम्बद्ध राष्ट्रिय युवा संघले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर तोडफोडमा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसके आफै कारबाही गर्ने चेतावनीसमेत दिइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!