- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीबासमा मंगलबार संयुक्त लोकतान्त्रिक गठबन्धनले विरोध प्रदर्शन गरेको छ । पाख्रीवास नगरसभामा भएको तोडफोड घटनामा दायर गरिएको मुद्दा फिर्ता हुनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्ष सोवित निरौलाको रिहाई माग गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टी सम्बद्ध गठबन्धनले विरोध प्रदर्शन गरेको हो ।

Advertisement

उनीहरुले झुटो मुद्दा फिर्ता गर, गिरफ्तार गरिएका वडाअध्यक्षलाई निःशर्त रिहाई गर लगायत नारा लगाउँदै बजारमा प्रदर्शन गरेका हुन् । उनीहरुले नगरपालिका कार्यालय घेराउ गरेर पनि प्रदर्शन गरेका छन् । प्रदर्शनपछि पाख्रीवास बजारमा कोषसभा गरिएको छ । सभालाई संवोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य हेमचन्द्र किराती, नेकपा एमाले माधव समुहका जिल्ला अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका उपाध्यक्ष पार्वती राई लगायतले १५ जनाकै मुद्दा फिर्ता गरेर वडाध्यक्षलाई तत्काल विना सर्त रिहाई गर्न माग गरेका छन् ।

राजनीतिक पूर्वाग्रहका आधारमा बजेटको सिलिङ तोकिएको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले असार १० गते पाख्रीवास नगरपालिकाको आठौं नगरसभामा हुलदंगा र तोडफोड गरेका थिए । तोडफोडबाट आधा दर्जन झ्यालका सिसा फुटेका छन् भने दर्जनौं कुर्सी तोडफोड भएका छन् ।

घटनामा संलग्न भएको भन्दै पाख्रीवास नगरपालिकाको तर्फबाट १५ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइएको छ । प्रहरीमा उजुरी परेपछि पाख्रीवास–४ का वडाध्यक्ष सोवित निरौलाले गत बिहिबार प्रहरी समक्ष गिरफ्तारी दिएका छन् । वाँकी १४ जना भने फरार छन् । उनीहरु विरुद्ध दर्ता भएको मुद्दा फिर्ता हुनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्ष निरौलालाई विना सर्त रिहाई गर्नुपर्ने माग गर्दै संयुक्त गठबन्धनले प्रदर्शन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!