- संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठक पनि अवरुद्ध गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले संसदमा दिएको अमर्यादित भनाईप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले आज बसेको बैठक पनि अवरुद्ध गरेको हो ।

Advertisement

माओवादी केन्द्रको अवरोधका कारण सोमबार बसेको बैठक पनि कुनै छलफल नभइ स्थगित भएको थियो । आज बसेको बैठकमा पनि माओवादी केन्द्रका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

आइतबारको बैठकमा मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेका थिए । जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवको नियमापत्ति र सभामुख प्रदिपकुमार भण्डारीको ४ पटकसम्मको रुलिङपश्चात पनि मन्त्री गुरुङले गालीगलौज बन्द नगरेपछि उनले माफी माग्नुपर्ने मागसहित सोमबारदेखि माओवादी केन्द्रले बैठक अवरुद्ध गर्दै आएको छ । माओवादी केन्द्रले नेकपा एमालेद्धारा प्रदेश सभामा पेश भई छलफलमा रहेको बजेट, गैह्र संवैधानिक ढंगबाट पुनर्लेखनको अभ्यास भइरहेको भन्दै त्यस विषयमा सरकारले आफ्नो स्पष्ट पार्नुपर्ने मागसमेत गरेको छ ।

यता संसदको गतिरोध अन्त्य गर्ने बिषयमा आवश्यक छलफल भइरहेको प्रदेश सरकारले जनाएको छ । मन्त्री गुरुङको अभिव्यक्तिपछि अवरुद्ध भएको संसद सुचारू गर्न माओवादी केन्द्रसँगै अन्य प्रतिपक्ष दलहरुसँग पनि छलफल भइरहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताए ।

प्रदेशसभा बजेट अधिवेशनको अर्को बैठक भने असार २० गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!