- संगालोखबर सम्वाददाता

विराटनगर । विपक्षी दलको अवरोधका कारण प्रदेश १ प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका सांसदहरुको अवरोधका कारण बैठक स्थगित भएको हो ।

Advertisement

विनियोजन विधेयक २०७८ मा निर्दिष्ट गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षक उपरको छलफलमा, सदनमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिने क्रममा आईतबार प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले माओवादी केन्द्रका सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेको भन्दैै माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो ।

बैठक सुरु हुनासाथ माओवादी केन्द्रका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले दलका तर्फबाट एक जनालाई आफ्नो भनाई राख्न समय दिएका थिए । दलका तर्फबाट संसदमा आफ्नो भनाई राख्नुहुँदै संसदीय दलका उपनेता रामकुमार राईले मन्त्री गुरुङले रोष्टमबाटै माफी माग्नुपर्ने र उनको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरे ।

आईतबार बसेको बैठकमा भने मन्त्री गुरुङले सभामुख प्रदीपकुमार भण्डारीको चार पटकको रुलिङ पश्चात पनि सांसद खड्कामाथि लगातार गालीगलौज गरेका थिए । मन्त्रीको भनाईप्रति असहमति जनाउँदै जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले तत्काल नियमापत्ति जनाए पनि उनी रोकिएका थिएनन् ।

त्यसपछि आजको बसेको बैठकमा भने दलका उपनेता राईले मन्त्री गुरुङले माफी नमागेसम्म बैठक अवरुद्ध हुने चेतावनी दिएपछि सभामुख भण्डारीले बजेट अधिवेशनको १५ औं बैठक असार १५ गते मङ्गलबार दिनको १२ः३० बजेका लागि आह्वान गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!