- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ४३ करोड बजेट बिनियोजन गरेको छ । पालिकाको नवौं गाउँ सभाबाट आगामी आर्थिक बर्षका लागि ४३ करोड ६७ लाख बराबरको बजेट बिनियोजन गरिएको हो ।

Advertisement

गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा बसेको गाउँसभामा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठले बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा चालुतर्फ २९ करोड ७३ लाख २७ हजार र पूँजीगततर्फ १३ करोड २७ लाख ४० हजार बजेट छुट्याइएको छ । बजेटमा आन्तरिक आयबाट ९७ लाख, नेपाल सरकारबाट प्राप्त वित्तीय समानिकरणतर्फ ९ करोड १० लाख, राजस्व बाँडफाँडबाट ६ करोड २१ लाख ८९ हजार समावेश गरिनेछ ।

त्यस्तै संघीय सरकारबाट सशर्त अनुदानतर्फ २० करोड २३ लाख, विशेष अनुदान ८३ लाख र समपुरक अनुदान प्राप्त हुने अनुमानित १ करोड ३९ लाख बजेट निर्माणमा समावेश गरिएको छ । प्रदेश सरकारबाट वित्तीय समानिकरणतर्फ ५१ लाख १५ हजार, राजश्व बाँडफाँडबाट ३० लाख ६१ हजार, समपुरक अनुदान १ करोड, सशर्त अनुदान १ करोड २१ लाख ३३ हजार समोवश गरिएको छ ।

प्रस्ताबित बजेट र बिद्येयक विषयगत समितिमा छलफल गरेर गाउँ सभाको आगामी बैठकबाट पारित गरिने प्रमुख प्रशासकीय अधिकृत तुलराज थापाले जानकारी दिए ।

बजेटमा के के छन् समावेश ?
भू–उपयोग नक्साका आधारमा गाउँपालिकाको सम्पूर्ण भू–भागलाई वर्गिकृत गरी समृद्धि निर्माण कार्यका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ कृषि व्यवसायीकरण तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमका लागि १ करोड ५ लाख ८६ हजार विनियोजन गरिएको छ ।

पशुसेवातर्फ दुध मिसन कार्यक्रम अन्तर्गत भैंसी पालन प्रवर्द्धन, छुर्पी प्रवर्द्धन कार्यक्रम, गोठ सुधार कार्यक्रम र कृत्रिम गर्भाधान कार्यक्रमका लागि ७५ लाख ६५ हजार विनियोजन गरिएको छ । त्यसैगरी प्रविधि हस्तान्नतरण तथा उद्योग वाणिज्यमा ३६ लाख, पर्यटन विकासका लागि ४४ लाख २५ हजार, सहकारी क्षेत्रमा ४ लाख ३० हजार विनियोजन गरिएको छ । यसैगरी जलश्रोत तथा सिँचाइतर्फ ४ करोड ७२ लाख ८३ हजार गरी जम्मा आर्थिक विकासका लागि ७ करोड २ लाख २९ हजार बजेट छुट्याइएको छ ।

त्यस्तै सामाजिक विकासतर्फ ‘बालबालिकहरुलाई कक्षाकोठामा ल्याऔं, पढाईमा टिकाऔं र समाजमा विकाऔं’ भन्ने नारालाई सार्थक तुल्याउन शिक्षामा १४ करोड १९ लाख ६१ हजार विनियोजन गरिएको छ । गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य रक्षा, खोप सेवा लगायतका स्वास्थ्य सम्बन्धित कार्यक्रमलाई एकै ठाउँमा राखी ‘उपाध्यक्षसँग जीवन रक्षा’ कार्यक्रमका लागि २ करोड ८४ लाख ४८ हजार बजेट छुट्याइएको छ ।

खानेपानी तथा सरसफाईमा १६ लाख ४२ हजार, साँस्कृतिक प्रवर्द्धनमा १३ लाख ५ हजार, युवा खेलकुद विकासका लागि ७५ लाख २ हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ७४ लाख ९० हजार गरी सामाजिक विकासतर्फ १८ करोड ८३ लाख ४९ हजार बजेट विनियोजन भएको छ ।

पूर्वाधार विकासतर्फ स्थानीय सडक विकासका लागि ६ करोड ६४ लाख १३ हजार, भवन तथा सहरी विकासतर्फ १ करोड ४१ लाख ८४ हजार, उर्जा, लघु तथा साना जल विद्युत (वैकल्पिक उर्जा समेत) ९ लाख, सम्पदा प्रवर्द्धन पूर्वाधारका लागि ८ लाख गरी पूर्वाधार विकासमा कूल ८ करोड़ २२ लाख ९७ हजार विनियोजन गरिएको छ ।

प्रकोप व्यवस्थापनका लागि २० लाख, कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि २० लाख, वातावरण तथा जलवायु अनुकुलन कार्यक्रमका लागि २३ लाख, श्रम तथा रोजगारका लागि ३४ लाख गरी ९७ लाख बजेट विनियोजन गरिएको छ ।
संस्थागत विकास, सेवा प्रवाह व्यवस्थापन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण व्यवस्थापन, न्याय सम्पादन तथा व्यवस्थापनसमेतका लागि ७ करोड ५ लाख रकम छुट्याइएको छ । त्यसैगरी पर्यटन, खेलकुद ग्राम, गाउँपालिकाको प्रशासकीय भवन र सडक पूर्वाधारका लागि आवश्यक समपुरक रकम २ करोड ७२ लाख विनियोजन गरिएको छ ।

गाउँपालिका भित्र बसोबास गर्ने सबै दलित समुदायका नागरिकहरुको स्वास्थ्य सरसफाइ तथा गुणस्तरीय जीवनका लागि ‘एक घर–एक उपहार’ कार्यक्रम सञ्चालन गर्ने आवश्यक बजेट बिनियोजन गरिएको छ । जनसंख्या व्यवस्थापनतर्फ ‘बसाई सरी जान नाईनाई – सरी आउनेलाई उपहार दिउँ एक गाई’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

शिक्षक तथा कर्मचारीहरुको हकमा नेपाल सरकारले घोषणा वमोजिम मासिक २ हजार थप हुनेगरी बजेट विनियोजन गरिएको छ । गाउँपालिका तथा वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगीहरुलाई कार्यबोझ समेतका आधारमा मासिक २० हजार पारिश्रमिक दिने व्यवस्था मिलाईएको छ । गाउँपालिकाको स्रोतबाट पारिश्रमिक पाउने गरी करार सेवामा नियुक्त सामुदायिक विद्यालयका प्रारम्भिक शिक्षकहरुलाई ६ हजार थप गरी मासिक १५ हजार पु¥याईएको छ ।

गाउँपालिकाबाट माध्यमिक विद्यालय र निम्न माध्यमिक विद्यालयमा नियुक्त शिक्षकहरुको पारिश्रमिकमा मासिक ७ हजार थप गरिएको छ । माद्यमिक विद्यालयका विद्यालय सहायकहरुलाई मासिक १८ हजार पारिश्रमिक दिने गरी बजेट व्यवस्था मिलाईएको छ । सबै सामुदायिक विद्यालयका बालविकास शिक्षक र कर्मचारीहरुको लागि सबैले समान रुपमा पाउने गरी मासिक १५ हजार पारिश्रमिक दिने गरी बजेट व्यवस्था गरिएको छ ।

यसैगरी, सामुदायिक स्वास्थ्य संस्थामा करार सेवामा कार्यरत चौथो तहका कर्मचारीहरुलाई मासिक २५ हजार दिने र सो संस्थामा कार्यरत कार्यालय सहयोगीहरुलाई मासिक १५ हजारका दरले पारिश्रमिक दिने गरी वजेट विनियोजन गरिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकारबाट घोषणा भए वमोजिमका कर्मचारीहरुका लागि वर्षको दश दिन बराबरको सेवा सुविधासहित तोकिएको क्षेत्रमा भ्रमण जाने गरी काज सुविधा दिने व्यवस्था मिलाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!