- संगालोखबर सम्बाददाता

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारप्रतिको विश्वास घट्दै गएको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करहरुको घेराबन्दीबाट बाहिर निस्कनै नसकेको आरोप लगाएका हुन ।

Advertisement

उनले भने, ‘घेराबन्दी भित्ररहेर विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामग्री र औषधि खरिदमा ठूलो अनियमितता भएको छ । खोपको समानुपातिक वितरण हुन सकेको छैन, कात्रो किन्नसमेत सेटिङ मिलाएर कमिसनको चक्करमा लागेको देखिन्छ ।’ उनले प्रदेश १ आर्थिक, सामाजिक, भौगोलिक, पर्यटकीय, धार्मिक, जातीय तथा भाषिक हिसावले देशकै एक नम्बरमा आउने सम्भावना बोकेको भएपनि सरकारको कार्यशैलीले संभावना कमजोर भएको बताए ।

सरकारमा रहेको दलभित्र एक समूहले अर्कोलाई पाखा लगाएर चलखेलमा विकाससँग सम्बन्धित ठेक्का पट्टा दिने गरिएको बताउँदै उनले भने, ‘मुख्यमन्त्री जनताको सेवकभन्दा पनि शासक बन्न थालेकाले धेरै कार्यक्रम मुख्यमन्त्रीका नाममा ल्याइएको छ । आफू निकटका कार्यकर्ताको भरणपोषणमा केन्द्रीत हुने गरी आएका कार्यक्रमले जनताको जनजीविकामा फरक परेको छैन ।’ उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत भैंसीलाई एक मुठ्ठी चामल दिएर अघाउन लगाएको जस्तो भएको टिप्पणी पनि गरे ।

प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री आफ्नो वडामा अल्मलिएको भन्दै कार्कीले मन्त्रीले प्रदेशभित्र अरु जिल्ला र आफ्नै जिल्लामासमेत अन्य स्थानीय तह तथा वडाहरु छन् भन्ने हेक्का नराखेको आरोप लगाए । उनी भन्छन्–‘प्रदेशका मन्त्रीहरु आफ्नै वडाहरुमा अल्मलिने हो भने त्यस्ता मन्त्रीले सिंगो प्रदेशको नेतृत्व कसरी गर्छन ? विकास र बजेट आफ्नो वडामा खन्याउनेले प्रदेशको वृहत्तर विकासबारे सोच्न सक्लान ?’ कार्कीले वडा मात्र सीमित हुने भए वडाको अध्यक्ष भएर बस्न प्रदेशका मन्त्रीलाई सुझाव दिएका छन् ।

अहिलेसम्म प्रदेशको नामाकरण गर्न नसकेको सरकारले प्रदेशका जनताको भावना बुझ्न नसक्ने र एमालेभित्रकै आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा बहुमतको प्रदेश सरकार केही समयभित्रै समाप्त हुने कार्कीको दाबी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!