संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिकाका बिभिन्न स्थानमा चार वटा पसल फुटाएर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर–११ का २९ बर्षीय संजय भनिने अंगत चौधरी र विराटनगर–६ का ३१ बर्षीय सन्तोष दासलाई पक्राउ गरी प्रहरीले आइतवार सार्वजनिक गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयबाट बिशेष प्रहरी परिचालन गरी उनीहरुलाई आ–आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दासको घरबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभी १ थान, कानमा लगाउने झुम्का थान–३, एलईडी टिभी १ थान, मोवाइल १ थान, फलामे कराई १ थान, फलामे औजार ४ थान, चाँदीको सिक्री १ थान र नगद ५ लाख ८ हजार ७ सय ३ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

विराटनगर ११ का बिनोद कुमार नुनियाले सञ्चालन गरेको महाविर इलेक्ट्रिक पसलमा गत जेठ ९ गते भेन्टिलेशन फुटाई नगद ६५ हजार चोरी भएको थियो । विराटनगर १५ बैंकरोडका समिर लामाको विनआर्ट पसल जेठ ११ गते राती झ्याल फुटाई नगद ८९ हजार १ सय ४५ र २ वटा मोवाइल चोरी भएको थियो ।

त्यस्तै, जेष्ठ १६ गते विराटनगर–९ महेन्द्र चौकस्थित अनिस रिजालकोे नेक्स्ट ट्रम्स एजुकेशन भिसा सर्भिसको ढोका फुटाई धाराको टुटी ७ थान र जेठ १५ गते विराटनगर–९ रामजानकी पथका बिरेन्द्र कुमार मण्डलले सञ्चालन गरेको आभुषण ज्वेलर्स सुनचाँदी पसलको पछाडी छतबाट पसलमा पसी सुन २४ ग्राम, चाँदीको पुजा भाडा ३५० ग्राम, नगद १७ हजार र एउटा ग्याँस सिलिण्डर चोरी भएको थियो ।

चार वटै चोरीका घटनामा उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध चोरी कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!