- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा ठूलो लगानी गरेर निर्माण गरिएको भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको छ । गम्भीर अवस्थाका विरामीको उपचार गर्न भेन्टिलेटरसहितको आईसीयू कक्ष निर्माण गरिएको भए पनि दक्ष जनशक्ति अभावका कारण सञ्चालन हुँन सकेको छैन ।

Advertisement

सरकारले गत बर्ष कोरोना महामारी फैलिएका बेला चार वटा भेन्टिलेटरसहित १० बेडको आईसीयू कक्ष निर्माणका लागि कोरोना जनसुरक्षा कोषबाट दुई करोड बजेट उपलब्ध गराएको थियो । सोही बजेटबाट जिल्ला अस्पतालको माथिल्लो तलामा आईसीयू कक्ष निर्माण गरिएको छ । तर, भेन्टिलेटर चलाउँने दक्ष जनशक्ति नहुँदा आईसीयू कक्ष सञ्चालन गर्न समस्या भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले बताए । ‘भेन्टिलेटरसहित आईसीयू रेडी गरेर राखेका छौं । तर, भेन्टिलेटर चलाउँने मान्छे अहिले हामीसँग नभएकाले तत्काल सञ्चालन गर्न समस्या भएको छ,’ डा. विश्वकर्माले भने, ‘एनएसथेसियोलोजिष्ट र जनरल फिजिसियनसहितका केही जनशक्ति भयो भने आजको भोलि नै आईसीयू चलाउँन सकिन्छ ।’

जिल्ला अस्पतालले आवश्यक जनशक्ति माग गरेर सरोकारवाला निकायमा पत्रसमेत पठाइसकेको छ । एनएसथेसियोलोजिष्ट र जनरल फिजिसियनसहितका १६ जना जनशक्ति माग गरेर सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । तर, तत्काल जनशक्ति आउँने छाटकाट देखिएको छैन । कोरोना महामारी फैलिरहेका बेला गम्भीर अवस्थाका संक्रमितलाई आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको छ । धनकुटाका संक्रमितहरुलाई पनि भेन्टिलेटरका लागि तराईका अस्पताल पुर्याउँने गरिएको छ । भेन्टिलेटर नपाएकै कारण विरामीले ज्यानसमेत गुमाइरहेका छन् । तर, ठूलो लगानी गरेर खरिद गरिएको भेन्टिलेटर भने धनकुटा अस्पतालमा प्रयोगबिहिन भएर बसेको हो ।

आईसीयू बनाउँन सरकारले बजेट दिएर जनशक्ति नदिदा वालुवामा पानी खन्याएजस्तो मात्र भएकाले तत्काल जनशक्ति पठाउँनुपर्ने पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ बताउँछन् । विरामी लिएर जिल्ला अस्पताल आएका इश्वरी सुवेदीले पनि यो महामारीका बेला आईसीयूको महत्व धेरै भएकाले तत्काल जनशक्ति व्यवस्थापन गर्न सरकारसँग माग गरे । धनकुटामा पहिलो पटक बनेको आईसीयू कक्ष सञ्चालन हुँदा उपचारका लागि जिल्लाबासीलाई निकै सहज हुँनेछ । अझै कोरोनाको महामारीका बेला यसले ठूलो राहत मिल्नेछ । यसका लागि दक्ष जनशक्तिको व्यवस्थापन गर्न सरकारले तत्काल चासो देखाउँनुपर्ने जिल्लाबासीको माग छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!