- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा आज थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । होम आइसोलेशनमा रहेकी चौबिसे गाउँपालिका–६ राजारानीकी ५५ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । ५/६ दिन अघिदेखि ज्वरो आउने, खोकी लाग्ने र स्वास्प्रश्वासमा समस्या भएपछि एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा उनमा संक्रमण देखिएको थियो । संक्रमण पश्चात होम आइसोलेशनमा रहेकी उनको विहान मृत्यु भएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञ कुमारी रुचालले जानकारी दिइन् ।

मृतकको शवलाई आफन्तले नै अन्त्येष्टि गरेका छन् । गाउँपालिकाले उपलब्ध गराएको पीपीइ लगाएर स्थानीयले मिलन चौक तलको सल्लेरी जंगलमा महिलाको शवको अन्त्येष्टि गरेका हुन् । अन्त्येष्टिका लागि तीन थान पीपीई उपलब्ध गराइएको थियो । अहिले कोरोना संक्रमित मृतकका आफन्तले स्वास्थ्य मापदण्ड पालना गरी आफ्नो सस्कार अनुसार अन्त्येष्टि गर्न चाहेमा पाउँने प्रावधान रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले बताए । उनका अनुसार यसअघि धनकुटाका ५ परिवारले कोरोनाका कारण मृत्यु भएका परिवारका सदस्यको आफै अन्त्येष्टि गरिसकेका छन् । पहिले नेपाली सेनाको टोलीले मात्र कोरोना संक्रमितको अन्त्येष्टि गर्दै आएको थियो ।

चौबिसेमा हालसम्म ३३० जनाको कोरोना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६५ जना संक्रमणमुक्त भइसकेको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख मेघराज वनले जानकारी दिए । उनका अनुसार एक जना संक्रमितको मृत्यु भएको हो भने वाँकी १६ जना संक्रमित होम आइसोलेशनमा छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार धनकुटाका ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये २२ जना धनकुटामा संक्रमण पुष्टि भई धनकुटामै मृत्यु भएका हुन् भने जिल्ला बाहिर परीक्षण गराउँदा संक्रमण पुष्टि भएका १० जनाको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!