
उदयपुर । उदयपुर ताप्ली गाउँपालिका–४ मा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । लहानबाट लखनडाँडातर्फ मिलको मेशिन बोकेर जादै गरेको बा १८ च १५६७ नम्वरको वोलेरो शनिवार साँझ करिब ७ः३० बजे अनियन्त्रीत भई सडकबाट पल्टिएको हो ।
दुर्घटनामा परी सिन्धुली दुधौली नगरपालिका १० का ६० बर्षीय इन्द्र वहादुर बिश्वकर्माको मृत्यु भएको हो । उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ बर्षीय डाँक नारायण श्रेष्ठ, उदयपुर ताप्ली गाँउपालिका ४ ठानागाँउ ज्यामिरेका ३० बर्षीय झगर बहादुर सार्की र सोही स्थानका २६ बर्षीय डम्वरबहादुर तामाङ घाइते भएका छन् ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट प्रहरी टोली घटनास्थल गएको थियो । घाइतेहरु मध्ये श्रेष्ठ र सार्कीलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पठाएको छ । घाइते तामाङको हात र खुट्टामा सामान्य चोट लागेकाले उनी सामान्य उपचार पश्चात घर गएका छन् ।
बोलेरो अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।















