- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छन् । संघीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उनले आग्रह गरेकी हुन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाँडोभन्दा चाँडो खोपको प्रबन्ध गर्न आग्रह गरिन् । कोरोनाको तेस्रो लहर शुरु हुने विज्ञहरुले बताइरहेकाले त्यसको पूर्वतयारी गर्न आवश्यक देखिएको उनको भनाइ छ ।

कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको भन्दै प्रदेशका दुर्गम स्थानमा कोरोना फैलिदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको उनले बताइन् । मन्त्री राईले सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेकोमा जोड दिइन् । उनले प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारीसमेत दिएकी छन् । मन्त्री राईले भनिन्–‘प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरी अघि बढेका छौं । सबै स्थानीय सरकारको बजेट केन्द्रिकृत गरी पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागि परेका छौं, एचडियू, आईसीयू, भेन्टिलेटर, आवश्यक जनशक्तिसहितको विकसित अस्पताल निर्माण हुनेछ ।’

विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरी विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उनले बताइन् । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायतको सहभागिता थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!