बिनोद बिष्ट/संगालोखबर

धनकुटा । अध्ययनको सिलसिलामा अमेरिका पुगेकी धनकुटाको पाख्रीवास नगरपालिका–१० चुङमाङकी अब्रिता कुथुमी राईले गाउँका कोरोना संक्रमितलाई सहयोग स्वरुप अमेरिकाबाट पैसा पठाएकी छन् । गाउँमा कोरोना संक्रमण फैलिरहेका बेला २२ बर्षीया अब्रिताले कोरोना संक्रमितलाई खाद्यान्न र पौष्टिक आहार उपलब्ध गराउँन ७० हजार रकम संकलन गरी पठाएकी हुन् ।

Advertisement

उनले पठाएको रकमबाट मंगलबार गाउँका २० कोरोना संक्रमित परिवारलाई प्रति परिवार ३५ सय मूल्य बराबरको खाद्यान्न वितरण गरिएको छ । अब्रिता चुङमाङका समाजसेवी स्व.नरबहादुर कुथुमी राईकी नातिनी हुन् । आफु र साथीहरुबाट रकम संकलन गरेर गाउँका कोरोना संक्रमितका लागि पठाएको अब्रिताले बताएकी छन् । उनले पठाएको पैसाबाट नरबहादुर कुथुमी राई स्मृति प्रतिष्ठानको अगुवाइमा खाद्यान्न खरिद गरी मन्सी चौतरा, कुथुमी टोल, तिम्सिना टोल लगायत क्षेत्रका कोरोना संक्रमितलाई उपलब्ध गराइएको हो ।

अमेरिकाबाट सहयोग पठाउँने अब्रिता ।

उनीहरुलाई प्रति परिवार २५ किलोको १ बोरा चामल, १ क्यारेट अण्डा तथा दुई/दुई किलोका दरले दाल, चना, नुन र २ लिटर तेल प्रदान गरिएको छ । पाख्रीवास वडा नं १० का वडाध्यक्ष हरिवहादुर खत्री, नेकपा एमाले वडा कमिटी अध्यक्ष महेश तिम्सिना, स्थानीयवासी रामप्रसाद तिम्सिना, सुमन तिम्सिना, नवीन निरौला, स्वास्थ्यकर्मी विनोद सत्यालसहितको टोलीले कोरोना संक्रमितको परिवारलाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।

चुङमाङका १६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १ जनाको मृत्यु भएको छ भने १ जना निको भएका छन् । संक्रमित १३ व्यक्तिका परिवार र निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएर संकटमा परेका सात परिवारलाई अब्रिताले पठाएको पैसाबाट खाद्यान्न उपलब्ध गराइएको वडाध्यक्ष खत्रीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!