- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा ७० हजारलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो ।

Advertisement

६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने गरी १४ वटै जिल्लामा खोप पठाउने काम भइरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार भोलिसम्म प्रदेश १ का सबै जिल्लामा खोप पुगिसक्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुबै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपुर्तीमा आएको खोपलाई जिल्ला–जिल्लामा पठाउने काम भइरहेको उनले बताए ।

धनकुटामा ४,८५३, ताप्लेजुङमा ३,७०३, संखुवासभामा ४,४००, सोलुखुम्बुमा २,८८५, ओखलढुङ्गामा ४,२९१, खोटाङमा ४,८४८, भोजपुर ४,३४७, तेह्रथुममा २,८४६, पाँचथरमा ५,५८१, इलाममा ८,८६२, झापामा २६,४१९, मोरङमा ३१,१८५, सुनसरीमा २६,१३२, उदयपुरमा १०,१५१ डोज खोप पठाउने काम भइरहेको छ । शाहका अनुसार दुबै डोजका लागि खोप पठाइएको छ ।

कोभिड–१९ विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्ड अनुसारका व्यक्तिहरुलाई मात्र लगाउन सामाजिक विकास मन्त्री उषाकला राईले निर्देशन दिएकी छन् । उनले सबै नागरिकलाई चाँडो भन्दा चाँडो कोभिड–१९ विरुद्धको खोप लगाउन सरकार लागि परेको बताइन् । विश्व स्वास्थ्य संगठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप ६०–६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्र लगाउन सरकारले मापदण्ड बनाएकाले सोही अनुसार गर्न भनिएको उनको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!