संगालोखबर सम्वाददाता
फाइल तस्वीर

धनकुटा । किराँत राई साँस्कृतिक कलाकार संघले विनायो वादन खुल्ला प्रतियोगिता आयोजना गरेको छ । संघको १६ औं स्थापना दिवसको अवसर पारेर आइतवारबाट विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिता सुरु गरिएको हो ।

कोङकोङमा (विनायो) किराँतीहरुको ऐतिहासिक बाजा भएकाले यसलाई संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले खुल्ला प्रतियोगिता आयोजना गरिएको किराँत राई साँस्कृतिक कलाकार संघका केन्द्रिय सदस्य शुखकला राईले जानकारी दिइन् । स्थापना दिवसको अवसरमा भर्चुअल माध्यमबाट आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रतियोगिता औपचारिक उद्घाटन गरिएको हो ।

Advertisement

प्रतियोगितामा जुनसुकै मूलुक र समुदायबाट सहभागि हुँन पाइनेछ । विनायो बजाएको कम्तिमा दुई मिनेटको भिडियो खिचेर संघको इमेल kiratraikalakar@gmail.com मा पठाउँनुपर्नेछ । दुई चरणमा सञ्चालन हुँने प्रतियोगिता असार महिनाको अन्तिम हप्ता समापन गरिने र छनौट भएका भिडियो संस्थाको युट्युव च्यानलमार्फत अपलोड गरिने बताइएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुँनेले क्रमसः १६ हजार, १० हजार र ७ हजार नगद पुरस्कारसहित प्रमाणपत्र पाउँने संघले जनाएको छ ।

कला संस्कृतिको संरक्षणमा जोड

किराँत राई साँस्कृतिक कलाकार संघको १६ औं स्थापना दिवसको अवसरमा भर्चुअल माध्यमबाट आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागिहरुले आफ्नो कला, सँस्कृतिको संरक्षणमा किरात राईहरु लाग्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा किराँत राई यायोक्खाका उपाध्यक्ष जीवन हाताचो राई, महासचिव जनक राई, किराँत राई साँस्कृतिक कलाकार संघका अध्यक्ष रामकर राई, संघका सस्थापक अध्यक्ष जितेन राई, पूर्व अध्यक्ष पार्वती राई, निवर्तमान अध्यक्ष राजु एन राई, किराया बाग्मती प्रदेश अध्यक्ष सुमन राई, युएई अध्यक्ष चन्द्र साम्पाङ राई लगायतले कला, सँस्कृतिको संरक्षणमा जोड दिए ।

किराँतीहरुको ऐतिहासिक बाजा विनायो बजाएर त्यसकै धुनबाट कार्यक्रम सुरु गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!