- संगालोखबर सम्वाददाता

विराटनगर । अक्सिजन अभावका कारण प्रदेश १ का अस्पतालहरुमा गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचार प्रभावित हुँन थालेको छ । उपचारका लागि आवश्यक अक्सिजनको सहज आपूर्ति नहुँदा नयाँ संक्रमितले अस्पतालमा उपचार नपाउँने अवस्था मात्र बनेको छैन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको ज्यानसमेत जोखिममा परेको छ ।

Advertisement

कोरोना संक्रमितको सघन उपचारका लागि सञ्चालित प्रदेश १ का ठूला कोभिड अस्पतालहरुमा सहज रुपमा अक्सिजन आपूर्ति नहुँदा कोरोना संक्रमितको उपचारमा समस्या भएको हो । गम्भीर प्रकृतिका कारोना संक्रमित बढ्दै जाँदा एक साता यता मोरङका ४ ठुला कोभिड अस्पतालहरुमा अक्सिजन अभाव भएको छ । जसका कारण अधिकांश कोभिड अस्पतालहरुले विरामी भर्ना लिन छोडेका छन् । पर्याप्त अक्सिजन नपाउँदा अस्पतालमा उपचाररत बिरामीहरुको ज्यानसमेत जोखिममा परेको हो । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा अहिले ७४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ९६ शैयाको यो अस्पतालमा २२ शैया खाली भएतापनि अक्सिजन अभावकै कारण तत्काल थप विरामी लिन समस्या भएको अस्पतालका संयोजक वैजनाथ शाहले बताए ।

विराट मेडिकल कलेजको २९१ बेड क्षमताको कोभिड आईसोलेसन सेन्टरको अवस्था पनि उस्तै छ । अस्पतालमा अहिले १०८ जना संक्रमित उपचाररत छन् । जसमा ४० जनालाई आई.सी.यू.मा राखेर उपचार भइरहेको छ । १८३ वटा बेड खाली हुँदाहुँदै पनि अक्सिजन अभावका कारण अस्पतालले थप बिरामी भर्ना लिन रोकेको छ । अस्पतालमा दैनिक ८५० सिलिण्डर खपत हुँदै आएको छ । तर, अहिले ४५० सिलिण्डर मात्र आपूर्ति भईरहेको छ । अस्पतालसँग ब्याकअप पनि नभएको र भर्ना भएका बिरामीलाई अन्यत्र पठाउने अवस्था पनि नरहेकोले अक्सिजन अभावले कुनैपनि बेला ठूलो दुर्घटना निम्तिनसक्ने कोभिड आइसोलेशनका इन्चार्ज सुनिल देव बताउँछन् ।

स्वास्थ्य मन्त्रालयसँगको सम्झौता अनुसार कोरोना संक्रमितको निःशूल्क उपचार गर्दै आएको नोबेल अस्पतालले पनि अक्सिजन अभावकै कारण आफ्नो बेड क्षमता २२० बाट घटाएर १९० मा झारेको छ । अक्सिजन पर्याप्त नहुँदा नोबेलले पनि विरामी भर्ना कटौति गरेको हो । यस्तै न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा पनि अक्सिजन अभावकै कारण बिहीबारबाट नयाँ भर्ना लिन छोडिएको छ । आवश्यकता भन्दा आधा मात्र अक्सिजन पाउँदा अस्पतालले डिस्चार्ज भएका बिरामीको ठाउँमा मात्र नयाँ विरामी भर्ना लिइरहेको छ । प्रदेश १ मा पाँच वटा उद्योगले अक्सिजन उत्पादन गर्दै आएको भएपनि उनीहरुले अहिले माग अनुसारको अक्सिजन उत्पादन गर्न सकिरहेका छैनन् । कुनै बेला प्राविधिक समस्याका कारण अक्सिजन उत्पादन रोकिदा अस्पतालमा विरामीको ज्यान नै जोखिममा पर्ने अवस्था सृजना भएको छ ।

मोरङको मारुती र हिमाल तथा सुनसरीको विनायक, पाथिभरा र दुर्गा उद्योगले दैनिक करिब २६ सय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएका छन् । यी उद्योगले प्रदेश १ मात्र नभएर प्रदेश २ का जिल्लाको मागसमेत धान्नुपर्ने वाध्यता छ । अक्सिजनको माग अत्याधिक भएकाले माग अनुसार उत्पादन गर्न नसकिएको हिमाल अक्सिजन ईन्डष्ट्रिज मोरङका प्लान्ट मेनेजर मोहम्मद नविलले जानकारी दिए ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!